दुई नम्बरका मुख्यमन्त्रीलाई ओभरटेक नगर्न प्रचण्डको चेतावनी

| 2018 Oct 23 | 06:20 pm 2654

धनुषा, कात्तिक ६ :  दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले केन्द्र सरकारलाई ओभरटेक गर्न खोजेको भन्दै नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि पोखेका छन् ।

अध्यक्ष प्रचण्डले प्रदेश दुईका मुख्यमन्त्रीलाई असन्तुष्टि मात्र पोखेनन्की केन्द्र सरकारलाई ओभरटेक गर्ने प्रयास नगर्न सार्वजनिक रुपमै चेतावनी समेत दिएका छन् ।

नेकपाको प्रदेश २ को कार्यालय उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुगेका अध्यक्ष प्रचण्डले उक्त कार्यक्रममा चेतावनी दिँदै आफूखुसी निर्णय गर्दा दुर्घटनामा पर्ने समेत बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले केहि दिन अगाडी दुई नम्बर प्रदेशका मुख्यमन्त्री राउतले जबरजस्त ल्याएको प्रहरी ऐनमाथि असन्तुष्टि जनाएका छन् ।

विधेयकहरु नबनोस् र सरकार संवैधानिक संकटमा परोस् भन्नेहरुसँग जुधेर बनाइएको मौलिक हकसम्बन्धी विधेयकलाई सबैले अंगीकार गर्नुपर्ने बताएका थिए ।

संघीय प्रहरी ऐन बनाउन केही ढिलो भएको स्वीकार गर्दै ढिलो भयो भन्दैमा संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोलाई छाडेर आफूखुसी बाटोमा दुर्घटना हुने गरी ओभरटेक नगर्न मुख्यमन्त्रीलाई अध्यक्ष प्रचण्डले आग्रह गरेका थिए ।

सबै प्रदेशमा दुई नम्बर प्रदेशमा जस्तै कर्मचारीको आवश्यकता रहेको कुरा प्रति सरकार गम्भिर भएर लागेको पनि प्रचण्डले बताएका थिए । छिटै खाउँ जल्दी मरौं भन्ने कहानी अनुरुप ओभरटेक गर्न थाल्नुभयो भने त्यसले दुर्घटना निम्त्याउने अध्यक्ष प्रचण्डको भनाई रहेको थियो ।

नयाँ संविधानले पनि पहिला संघीय प्रहरी ऐन बनाउने र त्यसअन्तर्गत प्रदेशले आफ्नो अवस्थाअनुसार ऐन बनाउने परिकल्पना गरेको उनले स्मरण गरे ।

‘सिंहदरबारको अधिकार गाउँगाउँमा’ भन्ने नारा आफूले अघि सारेको दाबी गर्दै उनले आफूले पाइसकेको अधिकार गुम्ने गरी अघि बढ्यो भने मुर्खता हुने बताएका छन् ।

प्रदेश २ को विकासलाई आफ्नो पार्टीले प्राथमिकतामा राखेको भन्दै नेकपा अध्यक्ष प्रचण्डले अतिवाद तथा विखण्डनको पछि नलाग्न प्रदेश २ का जनतालाई अपीलसमेत गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.