दुई दिनदेखि हवाई सेवा अवरूद्ध

रिपोर्ट नेपाल | 2021 Dec 04 | 08:21 am 1325

हुम्ला, मङ्सिर १८ः हिमाली जिल्ला हुम्लाका लागि यातायातको एक मात्र साधन हवाई सेवा दुई दिनदेखि अवरुद्ध भएको छ । बिहीबार बिहानबाट लगातार वर्षा भइरहेका कारण हवाई सेवा अवरुद्ध भएको हो ।

उडान अवरुद्ध भएपछि सिमकोटबाट नेपालगञ्जका लागि टिकट हातमा लिएका यात्रु प्रेम लामाले दुई दिनदेखि सिमकोटमै रोकिएको बताए। खराब मौसमका कारण उडान हुन नसकेपछि लामाजस्तै अन्य ८० भन्दा बढी यात्रु सिमकोटमा नै रोकिएका छन् । नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख मोहन गिरीले लगातार वर्षा भइरहेका कारण दुई दिनयता हवाई सेवा बन्द रहेको बताए । उनले यतिखेर हिमपात हुनुपर्ने तर वर्षा मात्र भइरहेका कारण मौसममा सुधार नआउँदा हवाई यातायात अवरुद्ध भएको उल्लेख गरे ।

दैनिक आठदेखि १२ वटा उडान हुने गरेकामा दुई दिनयता एउटा पनि उडान हुनसकेको छैन । उनले हुम्लामा मौसम बिग्रिँदा नेपालगञ्ज विमानस्थलमा उडान भर्न तयारी अवस्थामा रहेका जहाजले सिमकोटका लागि उडान भर्न नपाएको बताए । यस कारण नेपालगञ्जबाट हुम्ला आउनुपर्ने यात्रु पनि उतै रोकिएका छन् ।

यसका साथै कार्गाेको सामान ढुवानी पनि रोकिएको छ । दुई दिनअघि सुरु भएको खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको ढुवानी अनुदानको खाद्यान्न ढुवानी पनि रोकिएको छ । हवाई सेवा बन्द भएपछि तरकारी, मासुलगायतका खाद्यवस्तुको समस्या देखापर्न थालेको स्थानीय उपभोक्ताले बताएका छन् । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.