दुई तिहाई बहुमत बाँदरको हातमा नरिवल : वरिष्ठ नेता पौडेल

| 2018 Jul 31 | 05:52 pm 1738

तनहुँ, साउन १५ : नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिलो कारबाही प्रधानमन्त्री केपी ओली र सभामुखलाई गर्नुपर्ने बताएका छन् । कांग्रेस तनहुँले मंगलबार निकालेको र्‍यालीपछिको कोणसभालाई सम्बोधन गर्दै उनले उक्त धारणा राखेका हुन्।

कोणसभालाई सम्बोधन गर्दै उनले भने, ‘संवैधानिक परिषद्को निर्णय सुनुवाई समितिले उल्टाउने हो भने, पहिलो कारबाही परिषद्कै पदाधिकारी प्रधानमन्त्री केपी ओली, सभामुखलाई कारबाही गर्नुपर्छ, सबै पदाधिकारीलाई निकाल्नुपर्छ’ ।

उनले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनवाइ विशेष समितिले अनुमोदन नगरे उनको नाम सिफारिस गर्ने संवैधानिक निकायका पदाधिकारीलाई पनि कारबाही गर्नुपर्ने समेत बताएका छन् । जोशीको शैक्षिक प्रमाणपत्र देखाएर उनको पद धरापमा पार्ने काम भएको भन्दै पौडेलले प्रश्न गरे, ‘यसमा उनको के दोष, संवैधानिक परिषद्ले सिफारिस गर्ने बेलामा यो सबै कुरा हेर्न पर्थेन ?, सरकारी सेवामा प्रवेश गर्ने बेलामा लोक सेवा आयोगले यो विषय देखेन ?’

सरकारले देशमा सुशासन कायम गर्नुको साटो महँगी बढाउने, जथाभाबी कर लगाउने, भ्रष्टाचार बढाउने कार्य गरेको उनकाे आरोप छ।
सरकारले लोकतन्त्र विरुद्ध अदालतदेखि अख्तियारसम्मको सात्लोपुत्लो लिएर मुलुकमा हालीमुहाली गरेको भन्दै पौडेलले सरकारलाई नियन्त्रण गर्ने जनताबाहेक कोही नभएको बताए।

‘दुई तिहाई बहुमत बाँदरको हातमा नरिवल’

नेता पौडेलले नेकपा सरकारलाई दुई तिहाई बहुमत बाँदरको हातमा नरिवलजस्तो भएको आरोप लगाएका छन् । उनले जनताले कम्युनिस्ट पार्टीले दुईतिहाइ बहुमत दिए पनि बाँदरको हातमा नरिवलजस्तो भएको टिप्पणी गरेका हुन् ।

जनतालाई अनेक किसिमले ढाँटेर कम्युनिस्टहरुले ल्याएको दुई तिहाई बहुमत दुरुपयोग भएकोसमेत पौडेलले दाबी गरे। ‘दुई कम्युनिस्ट मिलेर बहुमत ल्याए, जनतालाई ढाँटेर सदनमा पुगे,’ उनले भने, ‘त्यो नेपाली जनताविरुद्ध प्रयोग भइरहेको छ। उनीहरुको हातमा पुगेको दुई तिहाई बाँदरको हातमा नरिवल बनिरहेको छ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.