जनकपुरधाम, २ असोज : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले दुई तिहाइको दम्भमा वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख रहेको आरोप लगाएका छन् । उनले सरकार बलात्कारी, अपराधी र हत्यारालाई संरक्षण दिइरहेको आरोप लागाउँदै सम्पूर्ण संयन्त्रमा आस्थाका आधारमा भेदभाव र प्रताडना दिने कार्य भइरहेको गुणासो गरे ।
नेपाल दलित सङ्घ प्रदेश नं २ स्तरीय प्रशिक्षण कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उनले भने, “सङ्घीयतालाई कमजोर बनाउन सरकार उद्यत रहेको देखिएको छ ।” उपसभापति निधिले पोखरामा आयोजना गरिएको अन्तर प्रदेशस्तरीय मुख्यमन्त्री सम्मेलनलाई सरकारद्वारा स्थगित गराउनु सङ्घीयता विरोधी ज्वलन्त उदाहरण हो भन्दै सङ्घीयता विरोधी क्रियाकलाप र आतङ्कविरुद्ध एकजुट हुन सबैमा आग्रह गरे।
नेपाल दलित सङ्घ प्रदेश नं २ मधेश सङ्गठन विभाग प्रमुख रामवरण पासवानको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल दलित सङ्घका अध्यक्ष मीनबहादुर विश्वकर्मा, कांग्रेसका केन्दीय सदस्य महेन्द्र यादव, पूर्वकेन्दीय सदस्य रामकृष्ण यादव, काङ्ग्रेस धनुषा जिल्ला सभापति महेशशङ्कर गिरी र प्रदेश नं २ प्रदेशसभामा प्रतिपक्षी दलका नेता रामसरोज यादवले जातिगतभन्दा विचार र व्यवहार उच्च हुनु जरुरी भएकाे बताए ।