दुईदिने विद्यालय बन्द भक्तपुर नगरपालिकाद्वारा अस्वीकार

| 2022 May 16 | 07:39 am 1301

भक्तपुर जेठ २ः भक्तपुर नगरपालिकाले सरकारी निर्णय अवज्ञा गर्ने भएको छ । सो नगरपालिकाले हचुवाको भरमा हप्ताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको जनाउँदै बिदा नदिने जनाएको छ ।

भक्तपुर नगरपालिकको नगर शिक्षा शाखाले सूचना जारी गर्दै भक्तपुर नगरपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयलाई अर्को सूचना जारी नभएसम्म साविकबमोजिम विद्यालस सञ्चालन गर्न निर्देशन दिएको छ । शाखा प्रमुख कृष्णप्रसाद कर्मचार्यद्वारा हस्ताक्षरित सूचनामा शनिबारबाहेक बिदा नदिन अनुरोध गरिएको छ ।

भक्तपुर नगरपालिकाले नेपाल बन्द वा अन्य कुनै पनि बन्दमा सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ । नेपाल बन्द वा अन्य कुनै पनि बन्दमा हुँदासमेत भक्तपुरका विद्यालय खुला हुन्थे । भक्तपुर नगरपालिका नगर शिक्षा शाखाले नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक र प्रिन्सिपललाई सम्बोधन गर्दै हप्ताको दुई दिन बिदा नदिने जानकारी दिएको हो ।

नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले सरकारले गरेको निर्णय पालना गर्नुपर्ने बताउनुभयो । नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो–‘सरकारले दुई दिन बिदा दिने निर्णय गरिसकेको छ । यसलाई सबैले सहयोग गर्नेछन् ।’गृह मन्त्रालय हिजो आइतबारदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरिसकेको छ । गृहले एक साताअघि राजपत्रमा सूचना प्रकाशित गरी जेठ १ गतेबाट शनि र आइतबार सार्वजनिक बिदा दिन निर्णय गरेको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) ले आइतबार बिदा दिने निर्णय कार्यान्वयन नगर्ने जनाएको छ ।

एन प्याब्सनका अध्यक्ष पाण्डव हमाल ठकुरीले निजी विद्यालयहरूको असहमति हुँदाहुँदै शिक्षा मन्त्रालयले एकपक्षीय ढंगले आइतबार पनि बन्द गर्ने निर्णय गरेको आरोप लगाउँदै बिदा नदिने स्पष्ट पार्नुभएको हो ।‘हामीले एनप्याब्सन आबद्ध सबै विद्यालयलाई पत्राचार गरी बिदा नदिने निर्देशन दिइसकेका छौं । यसमा कुनै फेरबदल हुँदैन’ –उहाँको भनाइ थियो । ‘प्याब्सन र एन प्याब्सनका पदाधिकारीबीच बिदा दिने विषयमा मन्त्रालयसँग कुराकानी भइरहेको अवस्थामा एक्कासि बिदा दिने निर्णय आएका कारण हामीले बाध्य भएर अवज्ञा गरेका हौं’ –उहाँको भनाइ थियो । उहाँका अनुसार हिजो आइतबार पनि विद्यालय खुलै थिए । एन प्याब्सनअन्तर्गत करिब ४ हजार विद्यालय आबद्ध छन् ।

शिक्षा ऐनमा भएको व्यवस्थाअनुसार कार्यदिन वा कार्यघण्टालाई प्रत्यक्ष प्रभाव पर्ने गरी बिदा थप गरिँदा आगामी दिनमा तोकिएको पाठ्यक्रम पूरा गर्न नसकिने चिन्ता व्यक्त गर्दै राष्ट्रिय प्याब्सनले सरकारले गरेको बिदासम्बन्धी निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.