काठमाडौं, भदाै ३० : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई सृदृढ ढङ्गले सम्पन्न गराएर छाड्ने बताएका छन् । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले आज नेकपाको पार्टी मुख्यालय धुम्बाराहीमा आयोजना गरेको बोगटीको चौथो स्मृति दिवस कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले पार्टीमा अन्तरविरोध खडा गर्ने, भाँजो हाल्ने प्रयास भइरहेको भन्दै त्यसलाई परास्त गरी पार्टी एकतालाई सुदृढ गराएर छाड्ने बताएका हुन् ।
बोगटीजस्ता महान् योद्धाको सपना साकार पार्न पनि पार्टी एकतालाई निष्कर्षमा पुर्याउनु आवश्यक रहेको उल्लेख गर्दै उनले सानातिना कुरा रअहंकारमा अल्झियो भने शहीदको सपना पूरा गर्न नसकिने बताए ।
प्रधानमन्त्री ओलीले पार्टी एकतालाई भत्काउनका लागि घुसपैठ गर्ने, अन्तरविरोध चर्काउने र दुई अध्यक्षबीच भाँजो हाल्ने प्रयास भइरहेकाले यसबाट सचेत हुनुपर्नेसमेत औंल्याए । ‘देशभित्र र बाहिर कतिपय शक्ति ‘के निहुँ पाउँ कनिका बुकाउँ’ भनेर लागिरहेका छन्, हामीबीच अन्तरविरोध चर्काउन खोजिरहेका छन्’ उनले भने, ‘हामी त्यस्ता अन्तरविरोधलाई चिर्दै प्रतिक्रियावादीका हमलालाई जवाफ दिँदै पार्टी एकतालाई टुङ्गोमा पु¥याउछौँ ।’
उनले कम्युनिष्ट आन्दोलनलाई मदन भण्डारीदेखि पोष्टबहादुर बोगटीका मार्गमा हिँडाएर जनताका आकांक्षा पूरा गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोगटी कम्युनिष्ट आन्दोलनको एकताको पक्षमा रहेको भन्दै यदि उहाँ जीवित भएको भए पार्टी एकतामा सबैभन्दा खुशी हुनुहुने थियो भन्ने धारणा अघि सरे ।
तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछिको पहिलो केन्द्रीय कमिटी बैठकमा बोगटीले नै एमालेसँगको एकता गर्नुपर्दछ भनेर सहमतिसमेत गराएको उनले स्मरण गरे । ‘त्यतिबेला बैठकमा हामीले एमालेसँग पार्टी एकता गर्ने प्रस्ताव ल्याएका थियौँ, उक्त प्रस्तावलाई बैठकभित्र सहज ढङ्गले बोगटीजीले नै सहमति गराउनुभएको थियो,’ प्रचण्डले भने ।
उनले बोगटी सरल, वैचारिक निष्ठा, कार्यकुशल र पारदर्शी ढङ्गको नेता भएको स्मरण गर्दै आन्दोलनले धेरै नेता जन्माए पनि बोगटीजस्तो विशिष्ट क्षमता र गुण भएको नेता पाउन गाह्रो भएको उल्लेख गरे । बोगटी भएको भए अहिले हामी दुई अध्यक्षबीच कतिपय कुरामा सहमति गराउन पनि भूमिका खेल्न सक्ने उनको भनाई थियो ।