दार्चुला–टिंकर रणनीतिक सडकका लागि भारतको समन्वय खोजी

रिपोर्ट नेपाल | 2021 Jun 22 | 08:12 am 2197

दार्चुला, असार ८ः भारतले सीमावर्ती क्षेत्रमा बलमिच्याइँपूर्वक सडक बनाइरहेका बेला नेपालले भने सेनामार्फत आफ्नै भूमिमा निर्माण गर्न लागिएको दार्चुला–टिंकर ‘रणनीतिक सडक’ का लागि भारतको समन्वय खोजी गरेको छ ।

नेपालले आफ्नो राष्ट्रहितअनुसार रणनीतिक महत्त्वको सडक बनाउन सक्ने भए पनि दार्चुला–टिंकरमा भारततर्फ समस्या पर्न सक्ने भन्दै गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई कूटनीतिक समन्वयका लागि पहल गर्न आग्रह गरेको छ । भारतले भने यस्तै रणनीतिक महत्वको सडक बनाउँदा समन्वयको खोजी त परै जाओस्, नेपालले गरेका पत्राचारको समेत बेवास्ता गर्दै आएको छ ।

महाकाली लोकमार्गअन्तर्गत दार्चुलाको व्यास गाउँपालिका–२ मा पर्ने कोठेधारदेखि नेपाल–चीन सीमानाका टिंकरसम्मको ८७ किमि प्रस्तावित रणनीतिक सडकमध्ये ५५ किमि महाकाली नदी वारि पर्छ । कोठेधारदेखि महाकाली नदी किनार र कतै भित्री क्षेत्र हुँदै बनाइने सडकले व्यास गाउँपालिका–१, छाङरु (गागा) स्थित नेपाल–भारत सीमाको सीतापुल वारिसम्म जोड्छ । नेपालतर्फ सडक निर्माण गर्दा भारतलाई असर पुग्ने अनुमानमा उसको भूमिका खोजिएको हो ।

गृह मन्त्रालयले ‘कोठेधारदेखि टिंकरसम्मको सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गर्दा नदी किनारका दुवैतर्फका बाटो अवरोध हुने’ अनुमान गर्दै असार १ गते परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर दुवै देशका प्रतिनिधिबीच कूटनीतिक समन्वयका लागि पहल गर्न भनेको हो । पत्रमा कुन किसिमको समन्वय गर्ने भन्ने उल्लेख छैन ।

महाकाली नदीबाट नेपालतर्फ कति उचाइमा बाटो खन्ने, पारिपट्टि भारतको सडकभन्दा तल वा माथि कुन तहमा निर्माण गर्ने, नेपाली सेनाको स्वविवेकमा चट्टान फोर्न पाउने–नपाउने जस्ता विषयमा भारतले व्यवधान खडा गर्ने अनुमान गरिएको छ । कान्तिपुर दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.