दार्चुला घटना: प्रतिवेदन बनाउनै एक महिना, कूटनीतिक पहल कहिले ?

| 2021 Sep 05 | 08:50 am 1757

काठमाडौं, भदाै २०ः भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा महाकाली नदीमा बेपत्ता भएका दार्चुलाका युवा जयसिंह धामीको विषयमा एक महिना बित्दा पनि सरकारले कूटनीतिक पहल गर्न आलटाल गरेको छ ।

जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको छानबिन र दोषीलाई कारबाही गर्न सरकारले कूटनीतिक पहल गर्न सकेको छैन । सोही घटनाको विषय लिएर केही दिनअघि मात्रै भारतका विदेश विभागका प्रवक्ता अरविन्दम बाग्छीले पत्रकार सम्मेलनमा आफूहरूलाई औपचारिक रूपमा महाकालीको घटनाको विषयमा कुनै जानकारी नभएको बताएका थिए । सो घटनाको विषयमा नेपाल सरकारले दिल्लीस्थित नेपाली दूतावासलाई त्यहाँको विदेश मन्त्रालयलाई ध्यानाकर्षण गराउन निर्देशन नदिएकाले राजदूत निलाम्बर आचार्यले कूटनीतिक पहल थालेका छैनन् ।

घटना लगतै सरकारले कूटनीतिक पहलमार्फत दार्चुला घटनाको छानबिन र कारबाहीका लागि पहल गर्नुपर्नेमा त्यसो हुन नसकेको एक कूटनीतिज्ञले बताए । यो विषयलाई राजनीतिक र कूटनीतिक तहबाट हल गरिनुपर्ने कूटनीतिज्ञहरू बताउँछन् । परराष्ट्र मन्त्रालयमार्फत घटनाको विषयमा भारत सरकारको ध्यानाकर्षण गराउनुपर्नेमा योपटक दार्चुलाको स्थानीय प्रशासन र भारतको धार्चुलाको प्रमुख जिल्ला अधिकारीको तहमा पत्राचारमा सीमित हुन पुग्यो । तर, भारतको सीमा प्रशासनले एसएसबीको संलग्नताको विषयमा ठाडै अस्वीकार गरेपछि छानबिन प्रभावित बन्न पुगेको थियो ।

सरकारले १७ साउनमा गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा गठन गरेको पाँच सदस्यीय छानबिन समितिले तयार पार्न नसक्दा सरकारले भारतसँग सो घटनाको विषयमा ध्यानाकर्षण समेत गर्न सकेको छैन ।

तुइनको भरमा भारतको बाटो हुँदै जिल्ला सदरमुकाम जान बाध्य नेपाली युवा बेपत्ता भएको विषयमा सरकार अझै आन्तरिक छानबिनमै छ । घटना कसरी भयो छानबिनमै रहेको भन्दै सरकार मौन बन्दै आएको छ । सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानबिन समितिमा नेपाल प्रहरीका डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक सीडीओ ज्योत्सना भट्ट जोशी छन् । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.