दार्चुलाका विकट स्थानमा हेलिकोप्टर मार्फत खाद्यान्न ढुवानी गर्ने

रिपोर्ट नेपाल | 2020 Jun 23 | 04:45 pm 1742

दार्चुला, असार ९ः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जिल्लाको व्यास, छांगरु र तिंकर गाउँमा खाद्यान्न अभाव हुन नदिन ‘ढुवानी बोलपत्र’ आह्वान गरेको छ । सो कम्पनीका कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख भीमबहादुर थापाले त्रिदेशीय सीमा क्षेत्र नजिकका ती गाउँमा खाद्यन्न ढुवानी गर्न बोलपत्र आह्वान गरिएको जानकारी दिए । उनले सुर्खेतदेखि हेलिकोप्टरमार्फत २ सय क्वीन्टल खाद्यान्न ढुवानी गर्न १५ दिने बोलपत्र आह्वान गरिएको बताए ।

दार्चुलाका व्यासीहरु कुञ्चा सरेपछि सो क्षेत्रमा खाद्यान्न अभाव हुने जनाउँदै सांसद गणेशसिंह ठगुन्ना, प्रदेशसभा सदस्य गेल्बुसिह बोहरा लगायतले वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई हालै भेटगरी खाद्यान्न ढुवानी गर्न माग गर्नुभएको बताइएको छ ।

विगतमा व्यासका स्थानीयवासीले चीनको ताक्लाकोट र भारतीय नाका हुँदै खाद्यान्न ढुवानी गर्दथे । बन्दाबन्दीका कारण नाका बन्द रहेका छन् । अहिले व्यासीहरुले पुरानो मौज्दात खाद्यान्नको प्रयोग गरिरहेका व्यासका स्थानीय विमल बोहराले जानकारी दिए । उनले भने– ‘स्थानीय उत्पादन र विगतमा बाँकी राखिएको खाद्यान्न उपभोग गरिरहेका छौँ । ”

सरकारकारले दार्चुलाको व्यास गाउँपालिकामा पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा पारित गरेपछि ती क्षेत्रलाई उच्च महत्व दिइएको छ । सीमावर्ती क्षेत्रका आफ्ना नागरिकलाई खाद्यान्न समस्या हुन नदिन सरकारले अहिले महंगो मूल्यमा खाद्यान्न ढुवानी गर्न लागेको हो ।

यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीको लागि हेलिकोप्टर मार्फत नै खाद्यान्न ढुवानी भएको थियो । नेपालतिर भएर गाउँ जान बाटो नभएपछि स्थानीयहरु व्यास कुञ्चा भारतीय बाटो हुँदै गएका थिए । बाटो नहुँदा खाद्यान्न ढुवानी गर्न नपाएका सर्वसाधारणको लागि हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्ने भएपछि स्थानीय समेत खुसी छन् ।

व्यासको छांगरु र तिंकरमा वर्षमा एक पटक मात्रै खेती हुने गरेको छ । सो क्षेत्रमा आलु, फापर, उवा, कोदो जस्ता अन्नबाली फल्ने गर्छ । व्यासको छांगरुमा १ सय १५ तथा तिंकरमा ६५ घरधूरीको बसोबास छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.