दाना बोक्ने गाडीमा फेला पर्‍याे १ सय २० केजी गाँजा

| 2019 May 18 | 04:26 pm 2172

मकवानपुर, जेठ ४:  दाना लोड भएको ट्रकबाट प्रहरीले एक सय २० केजी गाँजा बरामद गरेको छ ।

चितवनमा उत्पादित बिजय नामक कुखुराको दाना लोड गरी बाराको परवानीपुर लैजादै गरेको ना ३ ख ३७१५ नम्बरको ट्रकबाट प्रहरीले ठूलो संख्यामा गाँजा बरामद गरेको हो ।

३ नम्बर प्रदेश प्रहरी कार्यालयबाट आएको सूचना अनुसार मकवानपुर प्रहरी टोलीले हेटौंडा–३ लेवटबाट ट्रकमा दानाको मुनी लुकाएर लैजाँदै गर्दा ११ पोकामा जम्मा एक सय २० केजी गाँजा बरामद गरेको प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताए ।

गाँजासहित प्रहरीले ट्रकका मालिकसमेत रहेका चालक राक्सीराङ–३ का सुकलाल थिङ र सहचालक नमराज दर्जीलाई पक्राउ गरिएको उपरिक्षक सिंहले जनाए । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम २ बर्षदेखि १० बर्षसम्म कैद र १५ हजारदेखि एकलाखसम्म जरिवाना र ट्रक समेत जफत हुने गरी मुद्धा चलाउने प्रहरीले जानकारी दिए ।

मकवानपुर प्रहरीले सवारीसाधनमा लुकाएर लाँदै गरेको अवस्थामा दैनिकजसो गाँजासहित विभिन्न व्यक्तिलाई पक्राउ गर्ने गरेको छ । तरपनि गाँजा तस्करले प्रहरीलाई समेत झुक्याएर विभिन्न उपाय अपनाउने गरेको पाइएको छ ।

पछिल्लो समय गाँजा तस्करीमा प्रयोग गर्नलाई उच्च ओहदाका व्यक्ति सवार गाडी, एम्बुलेन्स, तेल ट्याङ्कर लगाएत मालबाहक गाडीमा गाँजा तस्करी गरेको पाइएको प्रहरी उपरीक्षक सिंहले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.