दाउन्ने बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु

रिपोर्ट नेपाल | 2021 Apr 18 | 08:03 am 2053

नवलपरासी, बैशाख ५: पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा परी घाइते भएका ३१ मध्ये तीन जनाको राति उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए।

दुर्घटनामा परी मृत्यु हुनेमा इलाम बस्ने २५ वर्षीया धनु दर्लामी, मकवानपुर बकाया गाउँपालिका–५ घर भई हाल विनयी त्रिवेणी गाउँपालिका–२ स्थित गुम्बामा बस्ने ५७ वर्षीया ज्यामो हिसे छमो ग्याल्मो र चितवन भरतपुर महानगरपालिका–२५ बस्ने ७२ वर्षीय हिमलाल न्यौपाने रहेका छन्।

अन्य घाइतेको भने भरतपुर तथा नवलपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रनाउ गिरीले बताए।  शनिबार साँझ नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा बुटवलबाट नारायणगढका लागि छुटेको ना५ख ७००० नम्बरको यात्रुबाहक बस आफैँ अनियन्त्रित भई सडकबाट दुई मिटर तल खसेको थियो।

बस दुर्घटनामा परी बसमा सवार सबै घाइते भएका थिए । सडकबाट तल भिरमा बस खसेकाले घाइतेको उद्धारमा समेत कठिनाइ भएको थियो। जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दुम्किबासको प्रहरी टोलीले घाइतेको उद्धार गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.