भक्तपुर, असोज २७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गाउँ, नगर, प्रदेश हुँदै केन्द्रीय सरकारसम्म नेकपाको भएकोले विकास र समृद्धिका लागि अठोटका साथ लाग्नु पर्ने बताएका छन् ।
आज शनिबार भक्तपुरको मध्यपुरथिमि स्थित नगदेशमा नेकपा मध्यपुरथिमि कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सरकारको समृद्ध राष्ट्र र सुखी नेपालीको परिकल्पनालाई साकार पार्न सबै एकताबद्ध भई सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने कुरामा जोड दिएका छन् ।
अहिले केन्द्रदेखि स्थानीय तहसम्म बलियो र स्थायी सरकार बनेकाले देशलाई समृद्धितर्फ लैजान एक भएर अगाडि बढ्नुको विकल्प नभएको उनको भनाई रहेको थियो ।
देशमा आइपरेका जस्तोसुकै चुनौतीलाई पनि पार लगाउँदै अगाडि जान सकिने बताउँदै विकास निर्माण, सुशासनका क्षेत्रमा गर्नुपर्ने काम धेरै भएकाले त्यसमा केन्द्रित भएर अगाडि बढ्नु परेको अध्यक्ष प्रचण्डको कथन थियो ।
नेपालले दुई छिमेकी चीन र भारतसँग सम्बन्ध अझ विस्तार गरी धेरै लाभ लिनसक्ने अवसर रहेको बताउँदै नेपालमा पर्यटन, खानी, पानीलगायतका प्राकृतिक सम्भावना प्रशस्त भएपनि राजनीतिक अस्थिरताले देश पछाडि परेको अध्यक्ष दाहालको भनाई रहेको थियो । झिनामसिना विवादका पछाडी नलागी अब मुलुकलाई समृद्धितर्फ लैजाने समय आएको बताएका छन् ।
निर्वाचनमा जनतामाझ जाँदा गरेका प्रतिबद्धता सरकारले पूरा गर्ने बताउँदै अध्यक्ष दाहालले जनताको सुशासन, भ्रष्टाचार, महङ्गी नियन्त्रण, बृद्धभत्ता बढाउने कुरा, निर्वाचनका बेलामा जे–जे प्रतिबद्धता गरिएको थियो, त्यसलाई सम्बोधन हुने गरी सरकारले अब काम गर्ने बताएका थिए । पार्टी एकताका विषयमा दशैँलगत्तै तल्लो तहसम्म पार्टी एकता पूरा गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता रहेको थियो ।
काठमाडौँका खाल्डाखुल्डी पुर्ने र जनताको आकाङ्क्षा पूरा गर्नेबारेमा प्रधानमन्त्री र पार्टीको सचिवालयमा आफ्नो छलफल भइरहेको बताउँदै अध्यक्ष प्रचण्डले काठमाडौँ उपत्यकाका सडकका खाल्डाखुल्डी पुर्ने सङ्कल्प वर्षाका कारण पूरा नभएको तर अब नयाँ वर्ष अगाडि नै उपत्यकाका मूल सडक कालोपत्रे गरिसक्ने बताएका थिए ।
काठमाडौंलाई विकासको दृष्टिकोणले सभ्यताको नयाँ चरणमा प्रवेश गराउने सङ्कल्प हामीले गरेका छौं त्यो पूरा गरेरै छाड्ने प्रचण्डको भनाई थियो ।
कार्यक्रममा नेकपा मध्यपुर नगर कमिटीका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुरथिमिको विकासलाई तीब्रता दिने बताएका थिए ।