दसैं मनाउन साढे २१ लाख यात्रु बाहिरिए

| 2018 Oct 16 | 07:43 am 2136

काठमाडौं, असोज ३०: दसैं मनाउन २१ लाख ५४ हजार २६ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्।

ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बेलुकासम्म २१ लाख ५४ हजार २६ जना यात्रु दसैं मनाउन बाहिरिएका हुन् । महाशाखाका प्रमुख वसन्त पन्तका अनुसार २ लाख ४५ हजार ४६ वटा सवारीमार्फत ती यात्रु उपत्यकाबाट बाहिरिएका हुन्। यो तथ्यांक ५ असोजदेखि आइतबार (हिजो) सम्मको हो । सोही दिन सरकारले दसैंका लागि टिकटको अग्रिम बुकिङ खोलेको थियो ।

पन्तले नेपालका विभिन्न क्षेत्रमा दसैं, तिहार र छठ मनाउन ठूलो संख्यामा मानिस बाहिरिने गरेको बताए । महाशाखाका अनुसार हालसम्म १ लाख ६२ हजार ९८ वटा टिकटको अग्रिम बुकिङ भएको छ।

यातायात व्यवस्था विभागका अनुसार गत वर्ष २४ लाख बढी यात्रु दसैंका लागि बाहिरिएका थिए। यस वर्ष पनि २० लाख बढी यात्रुहरू बाहिरिने अनुमान छ । विभागले गत बुधबारदेखि मुलुककै भरी रुट परमिट खुला गरेको छ । विभागका अनुसार टिकटमा कालोबजारी रोक्न तथा सर्वसाधारणको यात्रा सफल पार्न मुलुकभर रुट परमिट खुला गरिएको हो । मुलकभरि रुट परमिट खुला भएपछि उपत्यकाभित्र चल्ने साना तथा ठूला सवारी पनि उपत्यका बाहिर जान पाउने विभागले जनाएको छ।

विभागले सर्वसाधारणको सहज यात्राका लागि नारायणघाट तथा काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी निषेध गरेको छ । सो सडकखण्डमा १६ र १८ चक्के मालवाहक गाडीलाई निषेध गरिएको हो । त्यस्ता मालवाहक गाडीहरू २४ देखि ३१ असोजसम्मका लागि चितवनको नारायणघाटमै रोकिने विभागले जनाएको छ।

सर्वसाधारणलाई यात्रा गर्न सहज बनाउन ट्राफिक प्रहरीले उचित व्यवस्था मिलाएको छ । ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्त पन्त भने, ‘हामीले सर्वसाधारणलाई आवतजावतमा समस्या नहोस्, सहायता कक्षको व्यवस्था गरेका छौं ।’ सर्वसाधारणको सहायताका लागि जाम हुने ठाउँमा विशेष ध्यान पुर्‍याएको प्रमुख पन्तले बताए।

सर्वसाधारणलाई यात्राका क्रममा अलपत्र हुन नदिन ट्राफिक महाशाखा, नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजले काठमाडौं उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेका छन्।

उनका अनुसार उपत्यकाको नयाँ बसपार्क, कलंकी, नागढुंगा, पुरानो बसपार्क, सुन्धारा, चावहिल, तिलगंगा, कोटेश्वर, जगाती, लगनखेल, सातदोबाटो र बल्खुलगायतका स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएका छन् । ती सहायता कक्षले दसैंका लागि उपत्यकाबाट बाहिरिने यात्रुहरूलाई यातायातबाट ठगिएमा, बीच बाटोमा अलपत्र परेमा वा अन्य कुनै समस्या परेमा सहयोग गर्ने प्रमुख पन्तले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.