दसैं तिहारलाई लक्षित गरेर प्रहरीको सुरक्षा योजना लागू

| 2023 Oct 11 | 02:13 pm 4525

चितवन, असोज २४ ।  दसैं तिहारलाई लक्षित गरेर ईलाका प्रहरी कार्यालय रत्ननगरले चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ ।

चाडपर्वका बेला हुन सक्ने सम्भावित आपराधिक घटना लाई न्यूनिकरण गर्न प्रहरीले विशेष योजना बनाएर कार्यान्वयन गर्न लागिएको हो । प्रहरीले रत्ननगरका विभिन्न स्थानहरुमा नागरिक सहायता कक्ष सञ्चालन गरेको छ । भने, ठाउँ अनुसार सुरक्षा संवेदनशीलता हेरेर प्रहरी परिचालनको तयारी गरेको छ ।

त्यस्तै, चाडबाडका बेला घर छोडेर यात्रा गर्नेलाई घरमा रहेका आफ्ना बहुमूल्य सामान, नगद र गरगहना सुरक्षित राख्न समेत प्रहरीले आग्रह गरेको छ । ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिल कुमार खड्काले रत्ननगरको शान्तिसुरक्षा चुस्तदुरुस्त रहेको दाबी गर्छन् ।

पर्यटकीय नगरी सौराहाका व्यवसायीहरूसँग हातेमालो गरेर प्रहरीले काम गर्दै आएको दाबी गर्दै खड्काले रातको समयमा शहरलाई सुरक्षित राख्न सीसीटीभी, सडक बत्तिहरूको व्यवस्थापन गर्नेदेखि प्रहरी गस्ती गर्ने सम्मका काममा पनि ध्यान पुर्‍याएको बताए । धेरै मानिसको आवागमन हुने र त्यस्तो मौकामा सार्वजनिक साधनको भाडामा ठगी देखि लुटपाट हुने, चोरी गर्ने र काठमाडौंमा घरहरूको ताला तोडेर चोरी डकैती गर्ने, झै-झगडा गर्ने जस्ता अपराधहरू बढी हुने गर्छन् । डिएसपी खड्काले भने, विगतका आपराधिक घटनाहरूलाई विश्लेषण गरेर प्रहरीले काम गरिरहेका छौँ । यो विगत भन्दा केही पृथक् र नयाँ अभ्यासहरू सहितको छ । यसलाई हामीले दुई वटा पाटोबाट हेर्न सक्छौँ– पहिलो कानुनको पालना गराउने र अर्को सचेतना फैलाउने ।

कानुनको कार्यान्वयन गराउने कुरामा हामीले विगतमा चाडपर्वका बेला हुने गरेका घटनाहरू जस्तैः ठगी, चोरी, लुटपाट, डकैती र झै-झगडाजस्ता अपराधलाई विश्लेषण गरेर त्यसलाई यसपटक कमभन्दा कम कसरी गराउन सकिन्छ ? यदि भइहाल्यो भने त्यहाँ कसरी छिटोभन्दा छिटो प्रहरी परिचालन गरेर क्षति कम गराउने, अनुसन्धान प्रक्रिया अघि बढाउने ? भन्ने कुरामा योजनाहरु बनाएका छौँ । बढी भीडभाड हुने, व्यापार हुने ठाउँ, मन्दिरहरूमा प्रहरीले निगरानी बढाइरहेको छ ।

त्यस्तै, सादा पोशाकका प्रहरीले पनि भीडभाड हुने ठाउँहरूमा सुक्ष्मरुपमा मनिटरिङ गर्ने र प्रहरी परिचालन गर्ने योजना बनाएको उनको दाबी छ । अर्को पाटो भनेको सामाजिक सञ्जालमार्फत महत्वपूर्ण सूचनाहरू सेयर गरिरहेका हुन्छौँ । त्यस्तो सूचना गलत मनसाय भएका व्यक्तिका लागि अवसर बनिदिन्छन् । फेसबुक तथा अन्य सोसियल नेट्वोर्कमा राखिएका सूचना आफ्नै लागि पनि हानिकारक बन्न सक्छन् । त्यसैले सामाजिक सञ्जालमा लेख्ने कुरादेखि लिएर सबै कुरामा हामीले सजगता र सतर्कता अपनाउनुपर्ने हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.