दसैँमा गाडी अभाव हुने भएकोले फूलपातीअघि नै घर जान यातायात विभागको आव्हान

| 2018 Sep 28 | 11:50 am 2184

काठमाडौं, असोज १२: यातायात व्यवसायीले गाडी नथप्ने र यातायात व्यवस्था विभागले पनि वैकल्पिक व्यवस्था नमिलाउने भएपछि दसैँमा यात्रामा समस्या हुने भएको छ। विभागले नै दसैँमा गाडी अभाव हुने संकेत गरेको हो।

विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार फूलपातीपछि बढ्ने यात्रुको चाप थेग्‍न समस्या पर्ने बताएका छन्। उनले फूलपाती कुर्दा टिकट पाउन समस्या हुन सक्ने हुँदा मिलेसम्म फूलपातीअघि नै घर जान यात्रुलाई आग्रह गरेका छन्।

‘फुर्सद हुनेहरू पहिल्यै गइदिनुभयो भने पछिलाई चाप कम हुन्छ, सहज रूपमा जान पनि पाउनुहुन्छ,’ उपाध्यायले भने, ‘अध्ययन–अध्यापन गर्ने–गराउनेहरूको छिटो छुट्टी हुने भएकाले चाँडो घर गइदिन हाम्रो अनुरोध छ।’ यो वर्ष दसैँका लागि नयाँ बस नथपिने उनले बताए।

सरकारले सिन्डिकेट खारेज गरेपछि असन्तुष्ट व्यवसायीले नयाँ गाडी नथपेका हुन्। यसअघि विभागले व्यवसायीले नयाँ बस नथपे विद्यालयका बस चलाएर भए पनि यात्रुलाई सुविधा दिने बताएको थियो। तर, अहिले उनले यो प्रयास सफल हुन नसकेको बताए।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने, ‘अहिले अब नयाँ गाडी थप्न सक्ने अवस्था छैन। तर, हामी भएकै गाडी चलाएर यात्रु ओसार्छौँ। दिउँसो यात्रु बोकेर गएका गाडी राति नै फर्किन्छन् र भोलिपल्ट फेरि यात्रु बोकेर जान्छन्। राति यात्रु लिएर छुटेका बस पनि दिउँसो नै फर्किन्छन् र फेरि बोक्छन्।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.