दशैंमा दैनिक एक लाखले उपत्‍यका छोड्दै

| 2018 Oct 11 | 07:27 am 2266

काठमाडौं, असोज २५ : दसैँ शुरु भएसँगै उपत्यकाबाट बाहिर जानेको संख्या बढ्न थालेको छ । दैनिक एक लाखजनाभन्दा बढी सर्वसाधारण उपत्यकाबाट गृहजिल्लातर्फ जान थालेको ट्राफिक प्रहरीले जनाएको छ ।

मंगलबार एक लाख १७ हजार सर्वसाधरण उपत्यकाबाट बाहिरिएका छन्। सोमबार ९० हजार बाहिरिएका थिए । बुधबारदेखि बाहिरिने यात्रुको चाप झन् बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहायक प्रवक्ता प्रहरी निरीक्षक जितेश दाहालले बताए।

दसैँको वेला उपत्यकाबाट दुईतिहाइ सर्वसाधारण बाहिरिने गरेको विगतको तथ्यांक छ । धेरैजसो घटस्थापनापछि गृहजिल्ला जाने गर्दछन् । यातायात व्यवसायीका अनुसार हालसम्म करिब एक लाख यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन् । दसैँका गृहजिल्ला जाने यात्रुहरूको सहजताका लागि ट्राफिक प्रहरीले विभिन्न स्थानमा यात्रु सहायता कक्ष राखेको छ । विगतको तुलनामा धेरै गुनासो नआएको प्रहरीले जनाएको छ।

ट्राफिकको आँखा छलेर नियम मिच्नेलाई कारबाही गर्न र कुनै पनि घटनामा तत्काल पुग्न उपत्यकामा ‘ट्राफिक र्‍यापिड स्क्वाड’(टिआरएस) गठन गरी परिचालन गरिएको छ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय ट्राफिक महाशाखामा टिआरएसको बुधबार उद्घाटन गरेका छन्।

यस कार्यक्रमअन्तर्गत ट्राफिक र जनपथ प्रहरीले मोटरसाइकलमा गस्ती गर्नेछन् । कतै कुनै घटना भएलगत्तै उनीहरू त्यहाँ पुग्नेछन् । गल्लीहरूमा ट्राफिक नियम मिच्नेहरूलाई पनि सो टोलीबाट कारबाही गरिने योजना रहेको एसएसपी वसन्त पन्तले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.