दशैँ मनाउन रेमिट्यान्सको भरथेग

रिपोर्ट नेपाल | 2021 Oct 08 | 08:10 am 1465

काठमाडाैं, असाेज २२ः नेपालीहरूको सबैभन्दा ठूलो पर्व दसैं सुरु भइसकेको छ । चाडपर्वको अवसरमा राम्रो लगाउने र मिठो खाने अधिकांश नेपालीको रहरलाई वैदेशिक रोजगारीमा रहेका आफन्तले पठाउने रेमिट्यान्सले नै भरथेग गर्दै आएको छ । देशको वैदेशिक मुद्रा आर्जन गर्ने मुख्य स्रोत नै रेमिट्यान्स अर्थतन्त्रकै प्रमुख आधार हो । दशैमा भित्रने अधिकांश रेमिट्यान्स उपभोगमा खर्च हुने हुँदा यसले दसैं अर्थतन्त्रलाई चलायमान बनाउनसमेत भूमिका खेल्दै आएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार सबैभन्दा बढी रेमिट्यान्स दसैंको आसपास नै भित्रने गरेको छ । दसैं लगायतका चाडपर्व मनाउनका लागि विदेशमा रहेका नेपालीहरूले घरपरिवार र आफन्तलाई पैसा पठाउने गरेकाले असोज–मंसिरको समयलाई रेमिट्यान्सको ‘सिजन’ मानिन्छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा ९ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रिएको थियो । औसतमा प्रतिमहिना ८० अर्व रेमिट्यान्स भित्रिने भए पनि असोज महिनामा मात्र ९३ अर्ब रेमिट्यान्स भित्रिएको छ ।

दसैंलगायतका पर्वका लागि विदेशमा बस्ने नेपालीले आफन्तलाई रकम पठाउने भएकाले यस समयमा रेमिट्यान्स आप्रवाह बढ्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल बताउँछन् । “चाडपर्वको सिजन नेपालमा रेमिट्यान्स आउने मुख्य समय हो,” उनले भने, “भदौं महिनाबाटै रेमिट्यान्स वृद्धि हुन सुरु हुन्छ र यो क्रम मंसिरसम्म रहन्छ ।”

विदेशमा बस्ने नेपालीहले दसैंलगायतका चाडपर्वकै लागि पैसा पठाउने भएकाले यसैलाई लक्षित गरेर रेमिट्यान्स कम्पनीहरूले पनि विभिन्न योजना सार्वजनिक गर्ने गरेका छन् । यस वर्ष पनि कम्पनीहरूले रेमिट्यान्स पठाउँदा विभिन्न उपहार योजना सार्वजनिक गरेका छन् ।
“दसैंलगायतका चाडपर्व रेमिट्यान्स भित्रने मुख्य सिजन हो,” आईएमई गु्रपका राजु पौडेलले भने, “यसलाई लक्षित गरेर कम्पनीहरूले ग्राहक आकर्षित गर्न विभिन्न योजना ल्याउने गरेका छन् ।”

आर्थिक वर्ष २०७८÷०७९ को पहिलो महिनामै रेमिट्यान्समा गिरावट आएको थियो । २०७८ साउनमा भने १८.१ प्रतिशतले घटेर ७५ अर्ब ९६ करोड कायम भएको छ । आव २०७६÷०७७ मा रेमिट्यान्स ०.५ प्रतिशतले घटे पनि आव २०७७÷०७८ मा भने ९.८ प्रतिशतले वृद्धि भएको थियो । चालू आवमा कोभिड—१९ को महामारी र वैदेशिक रोजगारीमा परेको प्रभाव र आयातको उच्च वृद्धिले असर परेको रेमिट्यान्सको आप्रवाहलाई दसैं लगायतका चाडपर्वले सुधार गर्नेमा सरकारी अधिकारी र व्यवसायीहरु समेत आशावादी छन् । काराेबार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.