चितवन, मङ्सिर १०ः नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको चितवनको सौराहा केही दिन अगाडिदेखि भरिभराउ हुन थालेको छ । कोरोना सङ्क्रमणमा आएको कमीसँगै नेपालीका ठूला चाड दशैँ तिहार र लगत्तै विभिन्न कार्यक्रमका कारण सौराहा भरिभराउ हुन थालेको हो । अझ पछिल्ला दिनमा नेकपा एमालेको महाधिवेशनका कारण सौराहाको रौनक नै फेरिएको छ । यहाँको नदी किनारका पपहरू रातभर जाग्राम हुने गरेका छन् । सौराहाका सडक दिन र रात उस्तै भरिभराउ छन् ।
क्षेत्रीय होटल सङ्घ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेका अनुसार दशैँ लागेदेखि नै सौराहामा पर्यटकको आगमन पनि सुरु भए पनि अझै विदेशी पर्यटक भने शून्य रहेकोे छ । स्वदेशी पर्यटक आउने क्रम अझै जारी रहेका बेला नेकपा एमालेको महाधिवेशनले सौहाराको पर्यटक सङ्ख्या उकालो त लागेको छ तर विदेशी पर्यटक नआएसम्म सौराहाको पर्यटनमा खासै उल्लेख्य सुधार हुन्छ भन्न नसकिने उनले स्पष्ट पारे ।
उनले भने, “आन्तरिक पर्यटनले सौराहाको पर्यटनलाई बितेको दुई वर्षभन्दा सहज त होला तर दीर्घकालीन रूपमा विदेशी पर्यटकविहीन सौराहाले यहाँको पर्यटन व्यवसाय जेजस्तो विकास र प्रवर्द्धन हुनुपर्दथ्यो, त्यो हुनसक्ने अवस्था म देख्दिनँ । त्यसले यहाँको व्यवसायलाई जेनतेन धान्ला तर जुन किसिमको आम्दानी राज्यलाई हुन्थ्यो त्यो भने हुँदैन।”
सौराहाको होटल जङ्गल भिस्टा र होटल भिस्टाका सञ्चालक रमेश सिलवालका अनुसार बितेको दुई वर्ष कोरोनाका कारण व्यवसायमा मन्दी आएको थियो । मन्दीले गर्दा पैतृक सम्पत्ति बिक्री गरेर बैङ्कको किस्ता भुक्तानी गरेको बताउँदै उनले भने, “पर्यटक ठप्प थिए । बैङ्कको ब्याज र किस्ता, कर्मचारी अनि हात्तीको खर्च धान्नसमेत धौधौ थियो । दशैँपछि भने केही आशा पलाएको छ । अझ सौराहालाई नै केन्द्रित गरी विभिन्न कार्यक्रम आयोजना गरिँदा यहाँका सबै व्यवसायी उत्साहित छन् ।” पछिल्ला वर्षहरूमा फुर्सदको समय घुम्ने नेपालीको कल्चरजस्तै बनेको बताउँदै सिलवालले बितेको दुई वर्ष पूरै बन्द भएको तर दशैँदेखि पुरानो अवस्थामा फर्केको अनुभव उनको छ । “दशैँदेखि हात्तीको कमाइ पनि राम्रै भएको होटलका कोठाको बुकिङ पनि राम्रै रहेको छ,” उनले भने।
युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष एवं होटल व्यवसायी ऋषि तिवारी पछिल्लो समयमा हात्तीको आम्दानी केही बढेको बताए । उनका अनुसार बितेको दुई वर्षको अवधिमा हात्ती पाल्न नसक्ने अवस्थामा पुगेका हात्तीपालक यतिबेला भने राहतको महसुस गरेका छन् । कोरोनाका कारण थला परेको पर्यटन व्यवसाय यस पटकको दशैँ तिहार सञ्जीवनी बनेको थियो । दशैँ तिहारलगत्तै एमालेको महाधिवेशन सौराहालाई धेरै उत्साहित बनाएको उनले बताए । बितेको दुई वर्षको अनुभव सुनाउँदै तिवारीले भने, “हामीले हात्तीको घाँसका लागि १४ लाख रुपियाँ बुझायौँ । सबैको सदाशय र सहयोगले यतिबेला निकुञ्ज क्षेत्रबाट घाँस ल्याएर हात्तीले खान पाएका छन् ।”
कोरोनाका बेला आम्दानी नहुँदा सौराहाका व्यवसायीसँग रहेका हात्तीसमेत फिर्ता पठाइएका थिए । कोरोनापूर्व सौराहामा निजी क्षेत्रसँग ४५ हात्ती थिए ती अहिले ३३ मा झरेका छन् । तिवारी हात्ती सवार सौराहाको पर्यटनको महत्वपूर्ण पाटो भएको दाबी गर्छन् । उनले पछिल्लो समय हात्तीलाई पर्यटन क्षेत्रमा प्रयोग नगर्न पशु अधिकारवादीले उठाएको मुद्दाका बारेमा बोल्दै भने, “हात्तीबिनाको सौराहा सोच्न पनि सकिँदैन।” गाेरखापत्र दैनिकबाट