दशैँमा पनि हुम्लीलाई कामको चटारो

रिपोर्ट नेपाल | 2018 Oct 19 | 08:46 am 3132

हुम्ला, कार्तिक २: नेपालीको महान् पर्व बडादशैँका बेला हुम्लाका बासिन्दाले दशैँलाई भन्दा पनि कामलाई बढी महत्व दिने गरेका छन् ।

दशँैका बेला गाउँघरमा किसानलाई कात्तिके कामले छोएको छ । यति बेला दशैँसँगै कात्तिके बालीनाली भित्र्याउने समय पनि भएकाले दशैँलाई ओझेलमा पारेको चङ्खेली गाउँपालिकाका भक्तराज ऐडीले बताए।

हिमाली जिल्ला हुम्लामा एक बाली मात्र खेती हुने र छ महीनाको खेतीपातीले अर्को छ महीनासम्म पुर्‍याउनु पर्ने भएकाले यतिखेर यहाँका खेतीपातीमा लगाइएको कोदो, मकै, फापर, आलुजस्ता अन्न भित्र्याउन स्थानीयवासी व्यस्त छन् । कृषक बिहान ४ बजे उठेर खेतबारीको तुलफल टिप्ने र राति ८-९ बजे घर फिर्ता हुने गरेको उनले जानकारी दिए।

वर्षमा एकचोटी आउने चाडमा पनि वैशाख, जेठमा लगाएका बालीनाली समयमै घर नभित्र्याउँदा बारीमै कुहिने चिन्ताले पनि यहाँका किसानले दशैँभन्दा महत्व कात्तिकको कामलाई दिने गरेको सिमकोट गाउँपालिका–२ ठेहेका हेमन्त बोहराले बताउनुभयो । यति बेला पाकेका फलफूल समयमै घर नभित्र्याए चरा– चुरुङ्गीले खाने र पाकेको फल झरेर खेर जाने भएकाले पनि यहाँका कृषक व्यस्त भएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.