असार, १६ गुल्मी : साउदी अरबमा बन्धक बनाइकी गुल्मीकी एक महिलाको उद्धार दुई मन्त्रीको पहलमा भएको छ । मालिका गाउँपालिका वडा नम्वर –८ मरभुङ्ग द्वाँवासकी लक्ष्मी पौड्यालको परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टको पहलमा उद्धार भएको हो ।
दुवै मन्त्री गुल्मीबाट निर्वाचित हुन् । र उनीहरूको पहलमा उद्धार गरिएको साउदी अरबबाट चम्पबहादुर कार्कीले जानकारी दिए । उनले भने–‘हामीले परराष्ट्र मन्त्रालयका उपसचिव तेजबहादुर क्षेत्रीसँग आग्रह गर्यौ उहाँले तत्काल पहल गरेर उद्धार गर्नु भई मालिकले कुटपिट यातना र बन्धक बनाइएकी उनलाई त्यहाँबाट निकालेर अहिले यहाँको दूतावासको संरक्षणमा राखिएको छ ।’
उपसचिव क्षेत्री सँग सम्पर्क राख्दा गुल्मीका दुवै जना मन्त्री ज्युहरूबाट निर्देशन भएपछि तत्काल उद्धार गर्न सकिएको जानकारी दिए । उनले साउदी अरवस्थित जेदाका काउन्सिलर रेवतीरमण पौड्यालले त्यहाँ ठुलो पहल गरेको बताए ।
जन्मथलो गुल्मी मै रहेका उपसचिव क्षेत्रीले लन्डनमा छँदा देखि नै वैदेशिक रोजगारमा रहेका नेपालीको उद्धार र हकहितको क्षेत्रमा गरेको कार्य सर्वत्र चर्चाको विषय बनेको थियो । ती महिला दिल्ली हुँदै कुवेतमा ६ महिना अघि पुगेको र करिब २० दिनअघि दलालले कुवेत पुराएको थियो ।