दरबार हत्याकाण्ड २० वर्ष पूरा

रिपोर्ट नेपाल | 2021 Jun 02 | 07:48 am 3965

काठमाडौं, जेठ १९: आज जेठ १९ अर्थात तत्कालीन राजा वीरेन्द्र विरबिक्रम शाहको वंशनाश भएको २० वर्ष पुगेकाे छ।

उच्च सुरक्षा घेराभित्र रहेका राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको २०५८ जेठ १९ गते राती दरबारभित्रै  हत्या भएको थियो। दरबारमा भएको उक्त हत्याकाण्ड अहिले पनि रहस्यमय नै रहेकाे छ।

अपत्यारिलाे जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ। राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको वंशनाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन।

पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो।

उदार राजाको छवि बनाएका वीरेन्द्रको वंशनाशपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन। हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो।

राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भए। उनी नै नेपालको इतिहासमा अन्तिम राजा बनेका छन्।

हत्याकाण्डपछि  तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी देखाएर प्रतिवेदन सार्वजनिक गरेको थियो।

तर, उक्त घटना रहस्यमय भएकाले आम नेपालीले अझै विश्वास गरिरहेका छैनन्।

हत्याकाण्डलगत्तै तत्कालीन राजा ज्ञानेन्द्रकाे निर्देशनमा घटना भएकाे त्रिभुवन सदनलाई भत्काउन लगाइएकाे थियाे । हत्याकाण्डको खास रहस्य पत्ता लगाउन नसकिए पनि नारायणहिटी संग्रहालयले दरबार त्रिभुवन सदनकाे पुनर्निर्माण गरेको छ । दरबार हत्याकाण्ड भएको स्थानको स्मरण गराउन त्रिभुवन सदन निर्माण गरी संग्रहालयका रुपमा संरक्षण गरिएको हो ।

अहिले नारायणहिटी दरबारलाई संग्राहलय बनाइएको छ । गत वर्षदेखि राजाले लगाउने गरेको श्रीपेचका साथै सुनकाे राजदण्ड समेत सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.