तनहुँ, फागुन २२ः दमौली बजारस्थित भोलेटार चोकमा लागेको आगलागी करिब ५ घण्टापछि नियन्त्रणमा आएको छ । ब्यास नगरपालिका-४ स्थित भोलेटार चोकमा रहेको भूपाल हार्डवयर पसलबाट बिहान १० बजेतिर आगलागी सुरू भएको थियो ।
उक्त आगलागी सुरक्षा निकाय, दमकल र स्थानीयले नियन्त्रणमा लिन नसकेपछि काठमाडौंबाट सिम्रिक एयरको हेलिकोप्टर मगाइएको थियो । साे फायर फाइटिङसहितको सिम्रिक एयरको ९ एन ए जे जेड कलसाइनको हेलिकोप्टरका चालकमा सुरेन्द्र पौडेल र राजेन्द्र दुवाल थिए ।
हेलिकोप्टरले स्थानीय मादी खोलाबाट ४५ पटक पानी ओसारेको थियो । दमौलीमा लागेको आगो नियन्त्रण गरिदिन गृहमन्त्रालयले सिम्रिक एयरलाई आग्रह गरेको थियो । आगो नियन्त्रणमा आएपछि फायर फाइटिङसहितको सिम्रिक एयरको हेलिकोप्टर काठमाडौं फर्किएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार आगो निभाउन पोखरबाट चार वटा र लमजुङबाट एउटा दमकल ल्याइएको थियो ।
आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन । आगो निभाउन स्थानीय बजारका ट्यांकर पनि प्रयोग गरिएको थियो । क्षतिको विस्तृत विवरण संकलन भइरहेको अर्यालले बताएका छन् ।