दक्षिण कोरियामाथि पनि हाबी बन्यो मेक्सिको, दक्षिण कोरिया २ – १ ले पराजित

रिपोर्ट नेपाल | 2018 Jun 24 | 07:19 am 3349

काठमाडौं, असार १०: विश्वकप फुटबलमा मेक्सिकोले लगातार दोस्रो जित दर्ता गरेको छ । शनिबार राति दक्षिण कोरियालाई २ – १ गोलले हराउदै मेक्सिकोले लगातार दोस्रो जित निकालेको हो ।

रोस्तोभ एरिनामा मेक्सिकोलाई जित दिलाउन कार्लोस भेला र जाभियर हर्नान्डेजले समान एक एक गोल गरे । दक्षिण कोरियाका ह्यून मिङ सनले एक गोल फर्काए ।

दक्षिण कोरियाविरुद्ध एक तर्फी खेल खेलेको मेक्सिकोले पहिलो हाफको २६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै सुरुवाती अग्रता बनाएको थियो । दक्षिण कोरियाका खेलाडीले ह्याण्ड बल गरेपछि पाएको पेनाल्टीमा कार्लोस भेलाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १ – ० ले अघि रहेको मेक्सिकोले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल खाएको थियो । खेलको ६६ औं मिनेटमा
जाभियर हर्नान्डेजले गोल गर्दै मेक्सिकोलाई २ – ० को अग्रता दिलाए । हर्नान्डेजको यो राष्ट्रिय टोलीका लागि ५० औं गोल हो ।त्यसपछि खेलको इन्जुरी समयमा कोरियाका सनले गोल गर्दै खेल २ – १ मा ल्याएपनि टोलीको हार टार्न सकेनन् ।

यो जितसँगै समूह एफको मेक्सिकोले २ खेलबाट ६ अंक जोडेको छ । र, नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । लगातार दुई हार बेहोरेको दक्षिण कोरियाको दोस्रो चरण पुग्ने सम्भावना लगभग सकिएको छ। दक्षिण कोरिया पहिलो खेलमा स्विडेनसँग १ – ० ले पराजित भएको थियो । मेक्सिकोले साबिकको बिजेता जर्मनीलाई १ – ० ले हराएको थियो ।

अब समूह चरणको अन्तिम खेलमा मेक्सिकोले स्विडेन र दक्षिण कोरियाले जर्मनीसँग खेल्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.