काठमाडौं, असार २४ः २८औं प्रहरी महानिरीक्षकका प्रतिष्पर्धी एआईजी हरि पालले शैलेस थापा क्षत्री नेपाल प्रहरीको महानिरीक्षक भएकोमा खुसी व्यक्त गरेका छन् ।
बुधबार बिहान रिपोर्ट नेपालसँग कुरा गर्दै एआइजी पालले आफ्नै व्याचको सबै भन्दा मिल्ने साथी आइजी भएकोमा आफूलाई कुनै पश्चाताप नभएको पनि बताएका छन् । थापालाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आईजीमा नियुक्त गरेको थियो ।
सरकारले आफ्ना प्रतिद्वन्द्वीलाई आईजीमा नियुक्त गरेपछि उनले सरकारले गरेको निर्णय स्वागतयोग्य भएको बताएका छन् । उनले भने, मेरो सबैभन्दा मिल्ने साथी आईजी भए यसमा मलाई गर्व लागेको छ । सरकारले गरेको यो निर्णयमा म एकदमै खुसी छु ।
त्यस्तै उनले आफूहरुले पहिले पनि जो आईजी भए पनि मिलेर काम गर्ने प्रतिबद्धता गरिसकेको बताएका छन् । एआईजी पालले सरकारले सुझबुझ पूर्ण निर्णय गरिसकेकाले अब मिलेर काम गर्ने बताए ।
एआईजी पालले भने, हामीले पहिले नै प्रतिबद्धता गरिसकेका छौं । आईजी बन्न दुवैले प्रतिस्पर्धा गर्ने । जो आईजी बन्छ त्यसमा पूर्ण सहयोग गर्ने ।
सरकारले वरियता अनुसार पहिलो नम्बरमा रहेका क्षत्रीलाई आईजीपीमा नियुक्त गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीमा यसअघि वरियता मिच्ने काम भएको र त्यसले संगठनमा राजनीतिकरण भएको भन्दै अहिले वरियता र कार्यसम्पादनका आधारमा नै आईजीपी नियुक्त गरेका हुन् ।
हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले यही असार २४ मा अनिवार्य अवकास पाउँदैछन् । प्रहरी मुख्यालयले नयाँ आईजीपीको स्वागत र हालका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको विदाई कार्यक्रममा उपस्थित हुन सातै प्रदेशका डिआईजीलाई काठमाडौं बोलाइसकेको छ ।