थप १० लाख डोज खाेप ल्याउन नसक्दा खोप अभियान प्रभावित

रिपोर्ट नेपाल | 2021 Mar 15 | 07:21 am 1921

काठमाडौं, चैत २ः कोरोना भाइरस संक्रमण रोकथामविरुद्ध जारी खोप अभियान प्रभावित हुन सक्ने देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट खरिद गरिएको थप १० लाख डोज कोभिसिल्ड खोप अहिलेसम्म ल्याउन नसक्दा खोप अभियान प्रभावित हुन सक्ने देखिएको हो ।

यद्यपि सेरम इन्स्टिच्युटले गत ८ माघमा १० लाख डोज खोप उपलब्ध गराएको थियो । पहिलो चरणको खोप प्राप्त भएको एक साताभित्रै दोस्रो चरणको खोप पठाउने भनिए पनि सेरमले अहिलेसम्म खोप उपलब्ध नगराएपछि समस्या देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सफोर्ड एस्ट्राजेनिकाले विकास गरेको भारतको सेरम इन्स्च्यिुटले उत्पादन गरेको कोभिसिल्ड खोप खरिदका लागि गत ५ फागुनमा अग्रिम भुक्तानी गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले २० लाख डोज खरिदका लागि प्रतिडोज खोपको ४ डलरका दरले १ अर्ब रुपैयाँ अग्रिम भुक्तानी गरेको थियो । सरकारले पुनः सेरमसँगै ५० लाख डोज खोप खरिदको प्रक्रिया अगाडि बढाइसकेको छ । स्रोतका अनुसार सेरमले पछिल्लोपटक खोपको मूल्य बढाउने र १० प्रतिशत थप रकम एजेन्टका लागि दिनुपर्ने बताउँदै आएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार भारत सरकारको अनुदान सहयोगमा नेपाललाई दिएको १० लाख खोपमध्ये पहिलो चरणमा ४ लाख ३८ हजार ८ सय ७९ जनालाई खोप लगाइएको छ । मन्त्रालयसँग ५ लाख ६१ हजार १ सय २१ डोज खोप बाँकी थियो ।

लगत्तै सरकारले ६५ वर्षभन्दा माथिका नागरिकलाई खोप दिन सुरु गरेको थियो । हालसम्म २३ लाख ४८ हजार डोज खोप नेपालमा भित्रिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबारसम्ममा १३ लाख ४८ हजार ८८ जनाले खोप लगाइसकेका छन् ।

जोखिमका आधारमा ६५ वर्षभन्दा माथिका १७ लाख नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब ८ लाख डोज खोप मात्रै बाँकी छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.