थपियो ट्राफिक नियम: चालकले अनिवार्य जुत्ता लगाउनुपर्ने

| 2018 Sep 27 | 08:16 am 1923

इलाम, असोज ११: दुर्घटना हुँदै नहोस्। सबैले यही चाहेका हुन्छन्। यसका लागि ट्राफिक प्रहरीले बेला बेलामा नियम कडा पार्छन्। लाइसेन्समा कडाइ, मापसे जाँच, ट्राफिक नियम पालना आदि। यस्तै नियममा अब अर्को थपिएको छ, जुत्ता लगाएर मात्र गाडी चलाउनुपर्ने। दुर्घटना हुन नदिन इलाममा सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको छ।

यातायात व्यवस्थापन समितिको बैठकले सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गर्ने गरेको हो। दसैं–तिहारजस्ता चाडपर्वका बेला दुर्घटनाको सम्भावना बढ्ने भन्दै यस्तो नियम ल्याइएको हो। चालकले जुत्ता लगाए/नलगाएको अनुगमन ट्राफिक प्रहरीले गर्नेछ। जुत्ता नलगाए जरिवानादेखि लाइसेन्स खारेजीसम्मको कारबाही हुन सक्ने प्रावधान छ।

‘जाँचका क्रममा चप्पल लगाएर कुदाउनेलाई सम्झाएर आइन्दा जुत्ता लगाउन भनिरहेका छौं,’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका इञ्चार्ज पदम राईले भने, ‘अटेर गरे कारबाही प्रक्रियामा जानेछौं।’ चालकले जुत्ता लगाउनैपर्ने भन्ने नयाँ नियम भने होइन । भइरहेकै सरकारी निर्देशिकालाई कार्यान्वयन गर्न लागिएको हो। सवारी चालक अनुमतिपत्र व्यवस्थित गर्ने निर्देशिका २०६९ को दफा २ मा जुत्ता लगाउनुपर्ने नियम छ।

‘नियम भए पनि यसअघि कार्यान्वयनको प्रयासै गरिएन,’ जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत देवीचरण फुयालले भने, ‘अब पूर्ण रूपमा लागू गरिनेछ।’

चप्पल लगाई सवारी चलाउँदा चिप्लिने, असहज हुनेजस्ता कारणले दुर्घटना हुने गरेको ट्राफिकले पाएको छ । ‘जुत्ता नलगाउनु पनि दुर्घटनाको एउटा कारण देखिँदा भइरहेको नियम कार्यान्वयन गर्न लागेका हौं,’ राईले भने। समितिले जुत्तासँगै चालक परिचयपत्र र सिट बेल्ड पनि अनिवार्य गरेको छ। चाडबाडमा यात्रुहरूको अत्यधिक चाप हुने भएकाले आफ्ना सवारीहरू मर्मत गरेर दुरुस्त राख्न निर्देशन दिएको छ। यात्रु चापलाई ध्यानमा राखेर सुरक्षाका सबै उपाय अवलम्बन गर्न थालिएको समितिले जनाएको खबर कान्तिपुर दैनिकमा छ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा यातायात सेवा कम्पनीका प्रतिनिधिसमेतको बैठकले अग्रिम बुकिङ काउन्टर खोल्नुपर्ने, यात्रुलाई अनिवार्य टिकट दिइनुपर्ने, सवारी साधनमा अनिवार्य डस्टबिन राख्नुपर्ने, लक्षित वर्गको सिट सुरक्षित गर्नुपर्ने, सवारी चालकहरूले शिष्ट व्यवहार गर्नुपर्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने लगायतको निर्णय गरेको छ।

दसैं–तिहारमा सदरमुकामस्थित बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । फिक्कल र पशुपतिनगरमा पनि सहायता कक्ष खुल्नेछन्। यातायात व्यवस्थापन समितिले निर्णय कार्यान्वयन भए/नभएको अनुगमन गर्नेछ। ट्राफिक प्रहरी, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय यातायात व्यवसायीको समन्वयमा अनुगमन गर्ने तयारी भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.