काठमाडौँ, फागुन ६ :त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन समिति गठन गरेको छ । शिक्षाध्यक्ष सुधा त्रिपाठीको संयोजकत्वमा केन्द्रीय निर्वाचन समन्वय एवं निरीक्षण समिति गठन गरिएको हो ।
चुनाव मिति घोषणा गर्न माग गर्दै सत्तारूढ नेकपासम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीले सोमबार त्रिवि कार्यालय घेराउ गरेका थिए । लगत्तै त्रिविले समिति गठन गरेको जानकारी दिएको हो ।
यसअघि नै त्रिविले फागुनमा निर्वाचनको तयारी गर्न मुलुकभरका क्याम्पसहरूलाई निर्देशन दिएको थियो । कांग्रेस निकट नेपाल विद्यार्थी संघले तत्काल स्ववियु निर्वाचन नगर्न आग्रह गरेपछि चुनावको मिति घोषणा हुन सकेको थिएन । कांग्रेस नेताहरूले पनि चुनाव सार्न आग्रह गर्दै आएका छन् । सत्तापक्षीय विद्यार्थी संगठनको दबाबमा निर्वाचन समिति घोषणा भएको हो ।
१६ सदस्यीय समितिको सहसंयोजकमा रजिस्ट्रार डिल्लीराम उप्रेती र सदस्य सचिवमा विद्यार्थी कल्याण विभागका निर्देशक गंगाबहादुर थापामगर छन् । त्रिवि पदाधिकारी, प्राध्यापक र कर्मचारी सम्मिलित समिति गठन गरिएको उप्रेतीले जनाए । उनका अनुसार समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्नेछ । ‘चैतभित्र निर्वाचन नगरे त्यसपछि परीक्षा सुरु हुन थाल्छ,’ उनले भने, ‘त्यसअघि नै निर्वाचन गराउने गरी मिति घोषणा गर्छौं ।’
सात दिनभित्र निर्वाचन कार्यतालिका घोषणा गर्न त्रिविलाई अल्टिमेटम दिइएको अनेरास्ववियु त्रिवि अध्यक्ष मदन बिष्टले बताए । ‘निर्वाचन मिति घोषणा गर्न ७ दिनको समय दिएका छौं,’ उनले भने, ‘चुनावको कार्यतालिका सार्वजनिक नगरे त्रिवि पदाधिकारीको राजीनामा माग्छौं ।’ स्ववियु निर्वाचन हुनु एक महिना पहिले मिति र कार्यतालिका सार्वजनिक गर्नुपर्ने प्रावधान छ ।