काठमाडौं, साउन १८ः त्रिभुवन विश्वविद्यालयका तीन पदाधिकारीको राजीनामा र निष्पक्ष नियुक्ति गर्नुपर्ने माग गर्दै दुई सातादेखि तालाबन्दी गरेको प्रजातन्त्रवादी प्राध्यापक संघले राजीनामापछि मात्र वार्ता गर्ने बताएको छ ।
संघले एकलौटीरूपमा भएका नियुक्ति बदर गरी योग्यता क्षमता र विशिष्टताका आधारमा पुनः नियुक्ति गर्नुपर्ने माग दोहोर्याएको छ । संघका अध्यक्ष सह–प्राध्यापक जगत तिमल्सिनाले उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार, सेवा आयोगका अध्यक्ष, डीन र क्याम्पस प्रमुखले राजीनामा दिएपछि मात्रै वार्ता गर्ने अडान लिएका छन् ।
पदाधिकारीलाई काम गर्न सजिलोका लागि नेपाली कांग्रेसबाट नियुक्ति पाएका भनिएका ७ सहित ३२ जनाको राजीनामा माग गरिएको छ । उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाको कार्यकाल शुरू भएपछि पूर्वएमाले, माओवादी कोटाबाट नियुक्ति भएका सबैको राजीनामा नआएसम्म वार्ता नगर्ने संघले जनाएको छ ।
संघले उपलब्ध गराएको तथ्यांकअनुसार पूर्वएमालेबाट १५, पूर्वमाओवादीबाट १० र नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघबाट ६ जनाको नियुक्ति गरिएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएर नेकपा बनेको थियो । पार्टी एक भए पनि नेकपा निकट दुई प्राध्यापकको छुट्टाछुट्टै संगठन अहिलेसम्म सक्रिय छ । त्यसैले पूर्वएमाले माओवादीको कोटाबाट छुट्टाछुट्टै नियुक्ति गरिएको हो ।
पछिल्लो समय डीन र क्याम्पस प्रमुख नियुक्तिमा भएको भागबण्डाको विरोधमा संघ, नेविसंघ र लोकतन्त्रवादी प्राध्यापक संघ समेतले तालाबन्दी गरेका थिए । त्रिवि कार्यकारी परिषद्ले भागबण्डा मिलाउन भन्दै पूर्वएमालेको नेपाल प्रगतिशील प्राध्यापक संगठनबाट दुई डीन, एक सहायक डीन र एक विभागीय प्रमुखसहित १५ जनालाई नियुक्ति दिइएको छ । नेपाल समाचारपत्रबाट