काठमाडौं, भदौ २७ : त्रिभुवन विमानस्थलबाट परिवारका तीन जना सदस्य अपहरणमा परेका छन् । झापाको भद्रपुरबाट काठमाडौं आएका कास्कीका एलेन गुरुङ्ग, श्रीमती र आठ महिनाको छोरा अपहरणमा परेका हुन् । विमानस्थलमा ढुकेर बसेको चार जनाको समूहबाट उनीहरुको अपहरण भएको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।
गुरुङ्ग परिवारलाई अपहरण गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकका दिनेश लामा, चन्द्रागिरी नगरपालिका सतुङ्गलका सुशील उप्रेती, नुवाकोटका मिलन राई र नागार्जुन नगरपालिका सीतापाइलाका बिनेश पहरीलाई पक्राउ गरेको छ ।
एलेनको परिवारलाई उनीहरुले एयरपोर्टबाट बाहिर निस्कँदै गर्दा ढुकेर अपहरण गरेका थिए ।
उनीहरुको परिवार सिक्किमबाट भद्रपुर हुँदै काठमाडौं फर्किंदै थिए । उनीहरु बुद्ध एयरको जहाजबाट काठमाडौं आएका थिए ।
एलेनको परिवार एयरपोर्टमा उत्रिने बित्तिकै अपहरणकारीले एउटा ट्याक्सी र एउटा प्राइभेट कारमा हालेर सिधै सोल्टीमोड पुर्याएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी गराएका छन् ।