तोरी लगाउने बढे

रिपोर्ट नेपाल | 2023 Jan 01 | 07:43 am 2217

सुनसरी, पुस १७ः सुनसरीका किसानले आफ्नै खेतबारीमा तेलहन बाली लगाउन थालेका छन् । खानका लागि तोरीको तेल उपयुक्त हुने र तोरीबाली लगाउन पनि सहज भएकाले इनरुवासहित आसपास क्षेत्रका स्थानीय किसान तोरी खेतीतर्फ आकर्षित बनेका छन ।

बजारमा पाइने खाने तेलमा अत्यधिक मिसावट भएको र त्यसले स्वास्थ्य नकारात्मक असर गर्न थालेपछि किसानको आफ्नै पहल र अगुवाइमा तोरी खेती लगाउने क्रम सुरु भएको हो ।

सुनसरीमा बर्सेनि तोरी खेती बढ्दो क्रममा रहेको स्थानीय तहका कृषि प्राविधिकले जनाएका छन् । कृषिका लागि उर्वर मानिने सुनसरीमा सिँचाइको पहुँच, बजारको खाने तेलमा अत्यधिक मिसावट तथा मानव स्वास्थ्यमा परेको असरलाई ध्यानमा राखेर तोरी खेती लगाउने क्रम बढेको हरिनगर गाउँपालिका कृषि शाखाका भुवनेश्वर यादवले बताए ।

जिल्लामा केही वर्षयता तोरी खेती विस्तार भइरहेको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । सुनसरीमा तेलहन बालीका रूपमा सूर्यमुखी, सर्सिउ र तोरी लगाउँदै आएकामा यस पटक तोरी खेती बढी गरिएको छ । किसानले आफ्नै पहलमा तोरीबाली लगाएको इनरुवा–९, बबियास्थित यदुवंशी बहुउद्देश्य कृषक समूहका अध्यक्ष जसलाल यादवले जानकारी दिए । उनका अनुसार खेतमा तोरी लगाउँदा उत्पादन लागत कम लाग्ने र प्रतिकट्ठा ५० किलोग्रामसम्म उत्पादन हुने र स्वास्थ्यका लागि पनि राम्रो हुने भएकाले तोरी लगाउने प्रचलन बढेको छ ।

बढीमा दुई महिनामा तोरी उत्पादन हुने र मल पनि धेरै हाल्नु नपर्ने भएकाले तोरी खेतीमा आकर्षण बढेको कृषक दशरथ साहले बताए । सुनसरीको वराहक्षेत्र, इनरुवा, रामधुनी, देवानगञ्ज, बर्जु र गढी क्षेत्रमा तोरी बढी उत्पादन हुने गर्छ । गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.