तेह्रथुमका दीर्घरोगीले पाउने भए उपचार खर्च !

रिपोर्ट नेपाल | 2018 Aug 13 | 10:45 am 3458

तेह्रथुम, साउन २८: तत्कालिन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले दीर्घरोगीलाई दिने भनेको पाँच हजार भत्ता वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हटाएको थियो । देउवा नेतृत्वको सरकारले ल्याएको कार्यक्रमलाई तेह्रथुमको छथर गाउँपालिकाले पछ्याएको छ ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार उक्त गाँउपालिकाले दीर्घरोगीका लागि स्वास्थ्योपचार खर्च उपलब्ध गराउने भएको छ। गाउँपालिका उपहार कार्यक्रमअन्तर्गत गाउँपालिका क्षेत्रभित्रका नागरिकमा कुनै पनि दीर्घरोग लागेमा उनीहरुको अवस्था हेरी पाँच हजारदेखि २५ हजार सम्म उपचारका लागि आर्थिक सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताएका छन् ।

साविकका हमरजुङ, आङिदम, फाक्चामारा, पञ्चकञ्या, ओख्रे र सुदाप गाविस मिलेर बनेको यो गाउँपालिकामा सात वटा वडा रहेका छन् । ती गाउँमा रहेका मुटुरोगी, क्यान्सर, मिर्गौलालगायत रोगबाट पीडितलाई वार्षिकरुपमा एक पटक पाँच हजार देखि २५ हजार सम्म उपचार खर्च उपलब्ध गराउने नीति लिइएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए ।

दीर्घरोगबाट बचाउन गाउँपालिकाले विशेष स्वास्थ्य नीति र कार्यक्रमसमेत अघि सारेको छ । गाउँपालिकाले आव २०७५/०७६ मा दीर्घरोगी सहयोग कोषमा रु पाँच लाख बजेट विनियोजन गरेको कुरा गाँउपालिकाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.