तेस्रो वार्ता पनि असफल, ‘सरकारले हातखुट्टा बाँधेर वार्ता टोली पठायो’

| 2018 Jul 18 | 06:35 am 1744

काठमाडौं, साउन २: तेस्रोपटक वार्ताका लागि बसेको मंगलबार रातिको बैठक पनि निष्कर्षविहिन भएको छ। डा गोविन्द केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि सरकारले वार्ताका लागि मंगलबार राति केसी पक्षलार्इ बोलाए पनि समाधानको कुनै बाटो पहिल्याउन सकेन।

डा केसीका माग सम्बोधन गर्नका लागि डा केसी पक्षसँग वार्ता गर्न सरकारले शिक्षासचिव खगराज बरालको नेतृत्वमा सोमबार वार्ता टोली गठन गर्‍यो। उक्त वार्ता टोली र केसीपक्षको वार्ता टीलीबीच तीन पटक औपचारिक छलफल भइसकेको छ र कुनै निष्कर्ष हुन सकेको छैन।

केसी पक्षका वार्ता टोली सदस्य डा सुरेन्द्र भण्डारीका अनुसार सरकारले हातखु्ट्टा बाँधेर युद्धमा पठाएजस्तै गरी वार्ता टोली गठन गरेर पठाएको छ। उनले भने, ‘हामीसँग छलफलका लागि आएको वार्ता टोलीसँग कुनै पनि अधिकार छैन। सानो केही कुरा अघि बढाउन पर्‍यो भने मन्त्रीलार्इ फोन गर्नुपर्छ र मन्त्रीले प्रधानमन्त्रीसँग सल्लाह गरेर भन्छु भन्नुहुन्छ।’

यसरी अधिकारविहीन भएर औपचारिकता पुरा गर्नका लागि मात्रै सरकारले वार्ता टोली गठन गरेको डा भण्डारीको भनाइ छ। ‘सरकारी कर्मचारी पर्नु भो उहाँहरु पनि निरिह हुनुहुन्छ। केही कुरा राख्‍नै सक्नुहुन्‍न। डा केसीलार्इ काठमाडौं ल्याउ पहिले भन्‍नु हुन्छ’, डा भण्डारीले भने।

डा केसीका मागप्रति सरकार संवेदनशील नभएको केसी पक्षको आरोप छ। एकातिर संसदमा माफिया पोस्‍ने विधेयक पेस गर्ने र अर्कोतिर डा केसीका माग सम्बोधन गर्न अधिकारविहिन वार्ता टोली बनाएर वार्तामा बसाउने भन्दै केसी पक्षले सरकार गम्भीर नै नभएको आरोप लगाइरहेको छ।

डा. केसीले अहिले उठाएको मुख्य विषय चिकित्सा शिक्षा अध्यादेशलाई नै ऐनका रूपमा ल्याउनुपर्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस संचाालन गर्नुपर्र्छ भन्ने हो । तर सरकार माग सम्बोधन गर्न भन्दा पनि केसीलाई काठमाडौँ लिएर उपचार गर्ने कसरतमा देखिएकाले केसीका समर्थकहरु आक्रोशित बनेका हुन् । डा. केसी आफ्नो माग सम्बोधन नभएसम्म अनशन नतोड्ने अडानमा छन् भने सरकार राष्ट्रिय चिकित्सा विधेयकका प्रावधानमा पछाडि नहट्ने अडानमा छ । जसका कारण दुबैपक्ष बीच वार्ता पनि लम्बिएको छ ।

सरकार र डा.गोविन्द केसी पक्ष बीच आ-आफ्नै अडान लिएपछि वार्ता सफल हुन सकेको छैन। १९ औँ दिन देखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था भने जटिल बन्दै गएको छ । केसीलाई आइसियुमा राखेर उपचार गर्नुपर्ने अवस्था आईसकेपनि प्रतिष्ठानमा आइसियु नहुँदा उनको ज्यान जोखिममा रहेको र जोखिमबाट बचाउन चुनौती हुने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । केसीको जीवनरक्षाका लागि उनलाई जुनसुकै समयमा पनि एयरलिफ्ट गर्नुपर्ने अवस्था छ, तर केसी एयरलिफ्ट गर्न अस्विकार गर्दै आएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.