तेस्रो पटक थपिएको म्याद सकिँदा पनि बनेन् पुल, स्थानीय आक्रोशित

रिपोर्ट नेपाल | 2019 Feb 18 | 09:22 am 1775

खोटाङ, फागुन ७ : तेस्रो पटक थपिएको म्याद सकिँदा पनि खोटाङको रेग्मीटारस्थित साप्सु खोलामा निर्माणाधीन पक्की पुलको काम सम्पन्न भएको छैन ।सगरमाथा राजमार्ग अन्तर्गत दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने ६५ मिटर लम्बाइको पक्की पुलको काम अझै पूरा हुन सकेको छैन ।

दिक्तेलबाट गाईघाट पुग्ने सबैभन्दा छोटो दूरीको सडक खण्डमा पर्ने पुलको ढलान गत कात्तिकमै गरिए पनि पुल र सडकलाई जोड्ने ग्याबिन पर्खाल हालसम्म बनाइएको छैन । पुल तयार भए पनि पुलको वारी र पारी सडकसँग नजोडिँदा दिक्तेल–गाईघाट ओहोर दोहोर गर्ने सवारी साधन जोखिम मोलेर खोला तार्न बाध्य छन् ।

पुल निर्माणको काम करीब दुई प्रतिशत मात्र बाँकी रहेकाले चाँडै पुल सञ्चालनमा आउने निर्माण कम्पनी देवसायर एण्ड कान्छाराम जेभीका ठेकेदार कर्ण खत्रीले बताए । ‘निर्माणाधीन पुलको रङ्ग रोगन र साइड क्लियरेन्सको काम मात्र बाँकी छ’, उनले भने, ‘पुल सञ्चालनमा आउन अब धेरै समय लाग्दैन । चाँडै सम्पन्न गरेर उद्घाटन गर्ने तयारीमा लागेका छौँ ।’

ठेकेदारको ढिलासुस्तीमाथि ढलानका लागि जडान गरिएको फलामे टसल (टेको) २०७४ साल वैशाख ६ गते र २०७५ साल वैशाख ४ गते आएको बाढीले बगाउँदा पुलको काम अनपेक्षित पछाडि धकेलिएको स्थानीयको आरोप छ । करीब रु छ करोडको लागतमा १८ महिनाभित्र पूरा गर्नेगरी २०७१ सालमा सम्झौता भएको पुलको पटक–पटक म्याद गुज्रँदा पनि निर्माणको काम पूरा नहुँदा जिल्लावासी आक्रोशित छन् ।

समयमा पुल निर्माण नहुँदा वर्षायाममा दिक्तेलबाट फोक्सिङटार हुँदै गाईघाट जाने र आउने यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । दिक्तेलबाट उदयपुर पुग्नका लागि सबैभन्दा छोटो मार्गका रुपमा रहेको पुल सम्झौता अवधिमा निर्माण नहुँदा जिल्लामा हुने सार्वजनिक कार्यक्रममै विरोधका आवाज उठ्ने गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.