तुलसीपुरको ‘झाँक्रीगेल’ झरना ओझेलमा

रिपोर्ट नेपाल | 2022 Mar 23 | 08:37 am 2109

दाङ, चैत ९ः जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१९ सुन्दरखोलास्थित झाँक्रीगेल झरना ओझेलमा परेको छ। प्रचार–प्रसारको अभावले सो झरना ओझेलमा परेको हो।

तीनवटा खोला मिसिएर बनेको उक्त झरना अझै पर्यटकीय गन्तव्य बन्न सकेको छैन। मनमोहक झरनाको अवलोकन गर्न न्यून सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेका छन्। बिजौरीबाट करिब आठ किलोमिटर उत्तरमा रहेको उक्त झरनालाई पर्यटकीय गन्तव्य बनाउन ठोस कदम चाल्नुपर्ने स्थानीय प्रविर पुन बताउँछन्।

‘मनमोहक झरनाको हामीले प्रचारप्रसार गर्न सकेका छैनौँ। यसको प्रचार–प्रसार गर्न सके पर्यटकलाई आकर्षित गर्न सकिन्छ’, उनले भने। उक्त झरनाको लम्बाइ ३० मिटर रहेको छ। झरनाभित्र एउटा गुफासमेत छ । त्यसले पनि पर्यटकलाई आकर्षित गर्न सक्ने  स्थानीय पलबहादुर खड्काले बताउनुभयो। ‘त्यहाँसम्म पुग्न सडक निर्माण आवश्यक छ”, उनले भने।

झरनामा खानीखोला, राजा पँधेरो र तिनुखोलाको पानी मिसिएको छ। झरनाको सिरानमा दुईवटा ताल छन्। तीमध्ये एउटालाई ‘ताउले’ र अर्कोलाई ‘घैटे’ ताल नामकरण गरिएको छ। एउटाको आकार ताउलोजस्तो तथा अर्को घैटोजस्तो छ। तुलसीपुर उपमहानगरपालिका–१९ का वडाध्यक्ष रामबहादुर योगी झरनाको प्रचारप्रसारका लागि काम अघि बढाइएको बताउनुहुन्छ। ‘यसको विकासका लागि गुरुयोजना बनाउने काम भइरहेको छ’ उनले भने।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.