बाँके, ३ पुस (रासस)ः साउदी अरबको जेद्दा अल्मोराइ कम्पनीमा काम गर्दै आएका राप्तीसोनारी गाउँपालिका–१ कुसुमका वेदनिधि चापागार्इंको निधन भएको तीन साता हुँदै छ। हृदयघातका कारण निधन भएका चापागाईंको शव अहिलेसम्म साउदी अरबमै छ।
समयमै शव नआउँदा उनको परिवारले धार्मिक संस्कारअनुसार गरिने काजकिरिया गर्न पाएका छैनन्। चापागाईंको परिवार शव कुरेर बसेको छ । ‘चाँडो शव ल्याइदिएको भए काजकिरिया गर्न हुन्थ्यो’, मृतककी पत्नी निर्मलाले पीडा सुनाउनुभयो । शव ल्याउन ढिलाइ हुँदा परिवार, आफन्तलगायतलाई थप पीडा भएको छ । दाजुको निधनको खबर पाएपछि मलेसियामा रहनुभएका उनका भाइ बरुण पनि घर फर्किएका छन्।
“एक महीनाको बिदा लिएर घर आएको हुँ”, उनले भने, “सरकारले शव चाँडो ल्याउने व्यवस्था मिलाइदिएको भए काजकिरिया गर्न हुन्थ्यो ।” चापागाईं पाँच वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा हुनुहुन्थ्यो । गत वैशाखमा आमाको निधन हुँदा काजकिरिया सकेर उहाँ साउदी फर्किएका हुन्।
“कम्पनीले लिएको अन्तरवार्तामा पास भए, अब पुसमा बिदा मिलाएर घर आउँछु भन्नु भएको थियो,” श्रीमानसँग मङ्सिर ८ गते अन्तिम कुराकानी भएको सम्झिदै निर्मलाले भनिन्। शिक्षण पेशामा आबद्ध निर्मलाले केही वर्षअघि श्रीमान्कै अनुरोधमा जागीर छाडेकी थिइन्।