तीन वर्षमा पनि खुलेन यान्त्रिक कार्यालय

रिपोर्ट नेपाल | 2022 Jun 27 | 07:42 am 1293

बैतडी, असार १३ः बैतडीको अनारखोलीमा स्थापना गर्ने भनिएको यान्त्रिक कार्यालय तीन वर्ष बित्दासमेत कुनै कार्य अघि बढ्न सकेन । सुदूरपश्चिमका सात पहाडी जिल्लाका सडक वर्षा, पहिरो, हिमपात, हुरीबतासले अवरुद्ध भए तत्काल सफा गर्ने उद्देश्यसहित यान्त्रिक कार्यालय स्थापना गर्न लागिएको हो ।

सडक विभागले २०७६ सालको साउन महिनामा बैतडीको अनारखोलीमा रहेको सडक विभागको भवनमा यान्त्रिक कार्यालय स्थापना गर्न बुडरस्थित यान्त्रिक कार्यालयलाई परिपत्र गरेको थियो । सडक विभागले २२ जना कर्मचारी र मेसिन औजारसहित यान्त्रिक कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।

कैलालीको अत्तरिया नजिकै गोदावरीस्थित हेवी इक्विपमेन्ट डिभिजन कार्यालय रहेको छ । डोटीको बुडरमा उस्तै प्रकृतिको सडक विभागको अर्कोे कार्यालय छ । पहाडी जिल्लाको पहुँचमा यान्त्रिक कार्यालय नहुँदा सडक अरुद्ध भए अत्तरिया र बुडरबाट पहाडी जिल्ला पुग्न एक दिन लाग्ने गरेको छ ।

बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले यान्त्रिक कार्यालय स्थापनाका लागि आवश्यक पहल गर्ने बताए। वर्षा अगावै कार्यालय स्थापना हुन सके वर्षात्को समयमा यातायात तुरुन्तै सञ्चालन गर्न सहज हुने बैतडी अनारखोलीका गोपालसिंह विष्टले बताए ।

यान्त्रिक कार्यालयले सरकारी गाडी मर्मत गर्नेदेखि अवरुद्ध भएको सडक खोल्ने काम गर्छ । बिग्रेका सरकारी गाडी मर्मत गर्न यान्त्रिक कार्यालयमा २२ जना मेकानिक, कार्यालय प्रमुख, प्राविधिक, लेखापाल र अवरुद्ध बाटो खोल्ने डोजर चालकसहितको दरबन्दी हुने  गर्छ । विभागले अनारखोलीमा यान्त्रिक कार्यालय स्थापना गर्न गरेको निर्देशन कार्यालय प्रमुखले अटेर गर्दा यान्त्रिक कार्यालय बैतडी पुग्न नसकेको स्थानीयवासीले गुनासो गरेका छन्  । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.