तीन वर्षअघि डोल्पामा बुद्धको मूर्ति चोर्ने काठमाडौंमा पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 20 | 07:12 pm 2093

डोल्पा, माघ ६ : तीन वर्ष पहिला बुद्धको मूर्ति र पुस्तक चोरी गरेर फरार रहेका एकजना पक्राउ परेका छन्। डोल्पो बुद्ध गाउँपालिका ३ का धावा थापालाई प्रहरीले पक्राउ गरेको हो। २०७२ साल चैत्र २८ गते साबिकको धो गाविसमा रहेका गाकर गुम्बा र मेकिङ गुम्बाका ३ थान मूर्ति र एक थान बुद्धधर्मालम्बीको मन्त्र भएको सायौं वर्ष पूरानो मूर्तिसहित पुजारी पेम्बा ठिन्ले गुरुङको घरबाट सोनाम ढाक्पा गुरुङ र धावा गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो।

उनीहरुको साथबाट चोरीमा प्रयोग भएको ३ नाल पेस्तोल,२३ राउण्ड गोली,३ थान खोका र चोरी भएको दुई थान मूर्ति सहित बरामद गरेको प्रहरी नाउव उपरीक्षक अबदेश बिष्टले जानकारी दिए।

डीएसपी बिष्टका अनुसार सोही चोरीको घटनामा संलग्न धावा थापा काठमाडौंमा लुकीछिपी बस्दै आएका थिए। केन्द्रीय प्रहरी अनुसन्धान व्युरोको सहयोगमा काठमाडौंबाटै पक्राउ गरिएको उनले बताए।

पक्राउ परेका धावालाई जिल्ला अदालत डोल्पाले २०७५ साल असार १ गते ३वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना फैसला गरेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए।

पक्राउ परेका धावा थापालाई आइतबार नै जिल्ला अदालतमा पेश गरी जेल चलान गरिने प्रहरीले जानकारी दिएको छ। पछिल्लो दुई सातामा जिल्ला प्रहरी कार्यालय डोल्पाले माथिल्लो डोल्पाका गुम्बाबाट बुद्धका मूर्ति चोरी गरेर फरार तथा चोरीमा संलग्न रहेका आधा दर्जना व्यक्तिलाई विभिन्न स्थानबाट पक्राउ गरेको छ।

डोल्पो बुद्ध गाउँपालिकाको गाकर गुम्बा र मेकिङ गुम्बाका बुद्धका मूर्ति चोर्ने अजय भनिने धनेस विकलगायत अन्य व्यक्ति फरार रहेकाले उनीहरुको खोजि भइरहेको प्रहरी नायव उपरीक्षक अबदेश बिष्टले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.