तीन दिनसम्म सुत्केरी हुननसकेपछि निःशुल्क हवाइ उद्धार

| 2022 Jul 23 | 07:32 am 1253

अछाम, साउन ७ः सुत्केरी व्यथा लागेको तीन दिनसम्म बच्चा पाउन नसकेकी तुर्माखाँद गाउँपालिका–२ भुलुकी एक महिलाको निःशुल्क हवाइ उद्धार गरिएको छ । अछामकै विकट मानिएको भुलु निवासी २० वर्षीया कृष्णा विकको शुक्रबार नेपाली सेनाको हेलिकप्टरबाट हवाइ उद्धार गरेर सुर्खेत प्रादेशिक अस्पताल पुराएको छ ।

“उहाँलाई (कृष्णा) अस्तिदेखि सुत्केरी बिराम लागेको रहेछ, स्वास्थ्य केन्द्रमा शुक्रबार बिहान आउनुभयो ।” भुलु स्वास्थ्य केन्द्रमा अहेब राजेन्द्र विष्टले भने । “हामीले दिउँसोसम्म प्रयास गर्दा पनि बच्चा नजन्मिएको तर रगत गइरहेको भएर पठाएका हौं ” अहेब विष्टले थपे । राष्ट्रपति हवाइ उद्धार कार्यक्रम अन्तर्गत कृष्णालाई सुत्केरी सेवा लिनका लागि निःशुल्क हवाइ उद्धार गरिएको हो । पेटभित्रको बच्चासँगै रहेको पानी फोका फुटिसकेको अवस्था रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।

सुत्केरी हुन नसकेको खबर पाए लगत्तै समन्वय गरेर निःशुल्क हवाइ उद्धार गरेर ज्यान खतरामुक्त गराएको तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बीसीले जानकारी दिए । कृष्णाले प्रादेशिक अस्पताल सुर्खेतमा प्रविधिको प्रयोग गरेर बच्चालाई जन्म दिएकी छन् । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.