काठमाडौं, फागुन ६: निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलको संख्या १ सय ६ पुगेको छ। यसअघि १ सय ३ दल दर्ता भएकोमा थप ३ नयाँ दल दर्ता भएको आयोगले जनाएको छ। थपिनेमा जनता प्रगतिशील पार्टी, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी छन्।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले १५ फागुनभित्र दल दर्ता आह्वान गरेको छ। संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार आयोगमा दर्ता भएका कुनै पनि दलले तोकिएको निर्वाचनमा भाग लिन दल दर्ता गराउनुपर्छ। दर्ताका लागि निवेदन दिँदा दलको विधान, घोषणापत्र, नियमावली, झन्डा र चिह्नको नमुना, कम्तीमा २१ सदस्यीय केन्द्रीय समितिको व्यवस्था तथा अघिल्लो वर्षको लेखा परीक्षण प्रतिवेदन लगायत कागजात तथा विवरण पेस गर्नुपर्नेछ।
विधान र नियमावली लोकतान्त्रिक, पाँच वर्षमा एक पटक संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन भएको तथा विभिन्न तहका कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिनिधित्वको व्यवस्था भएको हुनुपर्ने जस्ता सर्तसहितका कागजात समेत दर्ताको समयमा पेश गर्नुपर्नेछ। अन्नपूर्ण पाेस्ट दैनिकबाट