तीन छोरा विदेशमा गुमाएका दम्पतीले भने, ‘सन्तानलाई अब कहिल्यै विदेश नपठाउने ’

रिपोर्ट नेपाल | 2018 Jun 25 | 08:50 am 3388

म्याग्दी, असार ११: दश वर्षको अवधिमा आफ्ना तीन छोराको वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएपछि घरको आँगनमा रातो बाकसमा आएका तीनवटा शव हेर्न बाध्य बनेका म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेलीका लीलमति र धनबहादुर रोकाले आफ्ना शाखा सन्तानलाई अब कहिल्यै पनि विदेश नपठाउने अठोट गरेका छन् ।

रोजगारको सिलसिलामा खाडीमुलुकमा धन कमाउन पुगेका तीन छोराको शव बाकसमा घरको आँगनमा आएपछि लीलमति र धन बहादुरका आँखा अहिले पनि रसाइरहेका छन् । धनबहादुर र लीलमतिका चार भाइ छोरामध्ये १० वर्ष अगाडि माहिला भक्तबहादुरको कतार, सात वर्ष अघि जेठा छोरा भक्तबहादुरको मलेसिया र कान्छा छोरा धर्मको गत वर्षको चैत महिनाको ११ गते मलेसियामै ड्युटी गरिरहेको अवस्थामा मृत्यु भएको थियो ।

दुईवटा छोराको सुतिरहेको अवस्थामा र एक छोराको डिट्युटीमै मृत्यु भएपछि रोका दम्पतीले आफ्नो साहिलो छोरा थमबहादुर र नातिहरुलाई कहिल्यै पनि विदेश नपठाउने अठोट गरेका हुन् ।

“बूढेशकालको सहारा एउटा छोरा मात्रै छ, तीनवटा छोरालाई दैवले लग्यो” आफ्नो कोखबाट जन्मिएको अन्तिम सन्तानलाई गुमाउँदाको पीडा सुनाउँदै लीलमतिले भने, “तीनवटा छोरालाई विदेशमै गुमाएँ, बँचेको साहिलो छोरा छ, हामी उसकै काखमा मृत्युवरण गर्न चाहन्छौँ, त्यसैले गरिबीले जति सताए पनि कुनै हालतमा पनि छोरा नातिलाई अब विदेश पठाउँदैनौँ ।”

औषधोपचार र घरायसी कामको सिलसिलामा आमाबुबालाई सदरमुकाम बेनीमा लिएरआएका रोका दम्पतीका साहिला छोरा थमबहादुरले विदेश जानका लागि बनाएको राहदानी पनि स्व दाजु र भाइको राहदानीसँगै फालिदिएको बताए । रोकाले भने, “गाउँकै भिरपाखामा खेल्छु, आमाबुबाको हेरचाह गर्छु, एकपेट भोकै एकपेट मकै खाएर भए पनि गुजारा गर्छु तर आमाबाबाको मन कुँडाएर विदेश जान्न ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.