तीनपटकको वार्ता विफल भएपछि मन्त्रीस्तरीय वार्ता समिति गठन गर्न माग

| 2018 Jul 18 | 12:14 pm 1860

काठमाडौं, श्रावण २: सरकारले डा गोविन्द केसी पक्षसँग वार्ता गर्न गठन गरेको शिक्षा सचिव खगराज बरालको टोलीले कुनै निकासको बाटव दिन नसकेपछि अब मन्त्रीस्तरीय टोलीसँग मात्रै वार्ता गर्ने बताएका छन् ।

सचिवस्तरीय टोली गठन गरेर अधिकार नदिएकोले अब मन्त्रीस्तरीय वार्ता टोली गठन गर्न डा केसीले सरकारसँग माग गरेका छन्। सरकारले शिक्षा सचिव डा खगराज बरालको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी सम्मिलित वार्ता टोली गठन गरेको थियो

सचिवस्तरीय टोलीसँग सोमबार र मंगलबार गरी तीनपटक वार्ता गर्दा पनि समस्या समाधानका लागि कुनै पनि पहल हुन नसकेको र सरकारले पेण्डुलम बनाउन खोजेको भन्दै मन्त्रीस्तरी वार्ता समिति गठन गर्न माग गरेको हो । सरकारले डा. केसीलाई काठमाडौं ल्याउनुपर्ने अडान राखेपनि यथास्थितिमा केसीलाई काठमाडौं ल्याउन सक्ने स्थिति नभएको केसी पक्षका वार्ता समितिका सदस्य डा सुरेनद्र भण्डारीले बताए ।

यसैबीच डा भण्डारीले सरकारी टोलीसँग आफूहरु जुनसुकै बेला वार्ता गर्न तयार रहेपनि सरकारी पक्षबाट वार्ताका लागि कुनै खबर नआएको जानकारी दिए। सरकारी वार्ता टोलीका एक सदस्यले भने वार्ताका लागि बिहान साढे ९ बजेको समय निर्धारण गरिएपनि आन्तरिक तयारी नपुगेकाले समय टुङ्गो नलागेको बताए।

डा केसीका मागप्रति सरकार संवेदनशील नभएको केसी पक्षको आरोप छ। एकातिर संसदमा माफिया पोस्‍ने विधेयक पेस गर्ने र अर्कोतिर डा केसीका माग सम्बोधन गर्न अधिकारविहिन वार्ता टोली बनाएर वार्तामा बसाउने भन्दै केसी पक्षले सरकार गम्भीर नै नभएको आरोप लगाइरहेको छ।

डा. केसीले अहिले उठाएको मुख्य विषय चिकित्सा शिक्षा अध्यादेशलाई नै ऐनका रूपमा ल्याउनुपर्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस संचाालन गर्नुपर्र्छ भन्ने हो । तर सरकार माग सम्बोधन गर्न भन्दा पनि केसीलाई काठमाडौँ लिएर उपचार गर्ने कसरतमा देखिएकाले केसीका समर्थकहरु आक्रोशित बनेका हुन् । डा. केसी आफ्नो माग सम्बोधन नभएसम्म अनशन नतोड्ने अडानमा छन् भने सरकार राष्ट्रिय चिकित्सा विधेयकका प्रावधानमा पछाडि नहट्ने अडानमा छ । जसका कारण दुबैपक्ष बीच वार्ता पनि लम्बिएको छ ।

सरकार र डा.गोविन्द केसी पक्ष बीच आ-आफ्नै अडान लिएपछि वार्ता सफल हुन सकेको छैन। १९ औँ दिन देखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था भने जटिल बन्दै गएको छ । केसीलाई आइसियुमा राखेर उपचार गर्नुपर्ने अवस्था आईसकेपनि प्रतिष्ठानमा आइसियु नहुँदा उनको ज्यान जोखिममा रहेको र जोखिमबाट बचाउन चुनौती हुने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । केसीको जीवनरक्षाका लागि उनलाई जुनसुकै समयमा पनि एयरलिफ्ट गर्नुपर्ने अवस्था छ, तर केसी एयरलिफ्ट गर्न अस्विकार गर्दै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.