तीजमा खाइने दर कस्तो हुनुपर्छ ?

| 2018 Sep 11 | 10:12 am 4752

वर्ष दिनमा एकपल्ट आउने नेपाली महिलाहरुको महान् चाड तीजमा व्रतको अघिल्लो राति दर खाइन्छ । दरका रुपमा विभिन्न परिकार खाने चलन छ । पहिले दरका रुपमा खीर, पुरी, तरकारी, विभिन्न घरेलु मिठाई, फलफूल, दुध, दहि आदि खाने चलन थियो तर अहिले शहर बजारमा पुलाउ, माछा, मासु तथा बजारका मिठाईहरु बढी प्रयोग गरिन्छ । यस्ता खानेकुरा सधै खाइने परिकारभन्दा बढी चिल्ला हुन्छन् जसले गर्दा अपच तथा ग्याष्ट्रिक हुनसक्छ ।

व्रत बस्नुअघि खाइने दर सफा, शुद्ध र स्वच्छ हुनुपर्छ भने त्यसमा सबै पौष्टिक तत्व समावेश हुनुपर्छ जसले गर्दा व्रतको दिनमा पनि उही ऊर्जा प्राप्त हुन्छ । दरमा हाम्रो शरीरलाई चाहिने हरेक पौष्टिक तत्व कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ तथा फइबरका साथै पानीको मात्रामा पनि सन्तुलित हुनुपर्छ ।

यी सबै पौष्टिक तत्व प्राप्त गर्न ठिक्क मात्रामा चिल्लो हालेर पुलाउ, चाम्रे, रोटी, मौसमी तरकारीहरु, फलफूल, गेडागुडी, दूध, दही तथा दूधबाट बनेका परिकारहरु, पनीर, चीज आदिलाई दरमा समावेश गर्न सकिन्छ । यसैगरी तोफु तथा च्याउलाई तरकारीमा मिसाएर खान सकिन्छ । हरियो सागपात तथा सलाद पनि प्रशस्त मात्रामा खानुपर्छ ।

आवश्यकताभन्दा बढी खाँदा के–कस्तो असर पर्छ ?
आफ्नो शरीरलाई चाहिनेभन्दा बढी अथवा आवश्यकताभन्दा बढी खानेकुरा खाएर अपच भए पेटमा समस्या उत्पन्न हुनसक्छ । कहिलेकाहीँ यसले गर्दा झाडाबान्तासमेत हुनसक्छ । अहिले तीज आउनुभन्दा धेरै पहिलादेखि नै साथी–संगीसँग, टोल छिमेक, इष्टमित्र, कार्यालयका साथीहरु मिलेर पटक–पटक दर खाने चलन छ ।

यसरी आवश्यक भन्दा बढी खाँदा, बढी भएको ऊर्जा बोसोमा परिणत भएर शरीरमा जम्मा हुन्छ । फलस्वरुप शारीरिक तौल बढ्छ । शरीरको तौल बढ्दै जानु भनेको मधुमेह, उच्च रक्तचाप, मिर्गौला आदि समस्या निम्तिनु हो । त्यसैले दर खाएपछि शारीरिक व्यायम अर्थात् नृत्य वा अन्य शारीरिक अभ्यास गर्नुपर्छ । त्यति भए बढी खाएको खानाबाट प्राप्त शक्ति बासोको रुपमा जम्मा हुन पाउदैन ।

रोग लागेका व्रतालुहरुले के–कस्ता खानेकुरा खानु उपयुक्त हुन्छ ?
अहिले ग्यास्ट्रिक, उच्च रक्तचाप, मधुमेह तथा थाइराइडजस्ता रोग धेरै महिलामा देखिन्छ । त्यसैले यस्ता रोग भएका महिलाहरुले व्रत बस्दा तथा दर खाँदा पर्याप्त सावधानी अपनाउनुपर्छ ।

१) थारै खाने बरु धेरै पटक खाने ।
२) खानामा नुनको प्रयोग कम गर्ने । (दिनभरिमा ३ ग्राम मात्र नुन खाने)
३) मौसमी तरकारी तथा फलफूलहरु खाने ।
४) हरियो सागपात तथा सलाद पनि प्रशस्त मात्रामा खाने ।
५) केरा, आँप, अनारजस्ता बढी गुलिया फलफूल कम खाने ।
६) प्रोसेस गरिएका खानेकुरा सकेसम्म नखाने ।
७) रेडिमेड खानेकुरा पनि नखाने जसमा नुन तथा खराब खालको चिल्लो पदार्थ हुन्छ ।
८) सफ्ट ड्रिंक्सहरुको सट्टा दही, मोही अथवा सर्वत पिउने ।
९) दर खाँदा गुलिया खानेकुरा सकेसम्म नखाने, खानै परे पनि कम मात्रामा खाने ।
१०) चिल्लो खाँदा पनि घिउ, बटरजस्ता चिल्लो पदार्थ सकेसम्म कम खाने । व्रतालुले कुनै रोगको नियमित औषधि सेवन गरिरहेको भए व्रतको दिन पनि आफ्नो नियमित समयमै औषधि खानुपर्छ ।

व्रतका दिन के खाने ?
व्रतका दिन धेरै व्रतालु दिदीबहिनीहरु निराहार बस्नुहुन्छ । यसले शरीरमा पानीको मात्रा कम हुन गै विभिन्न समस्या सिर्जना हुन सक्छ । त्यसैले सर्वप्रथम शरीरमा पानीको मात्रालाई सन्तुलनमा राख्नुपर्छ ।

मधुमेहका बिरामी व्रतका दिन खाली पेट बस्दा शरीरमा चिनीको मात्रा कम हुन्छ । यो स्वास्थ्यका दृष्टिले खतरनाक हुनसक्छ । त्यसैले फलफूल तथा फलफूलको फ्रेस जुस, लस्सी, मोही अथवा दूध आदि पिउनुपर्छ । मधुमेहका बिरामीले निराहार बस्नु हुँदैन । दही, रोटी, साबुदानको खीर अथवा जौको सातु खानुपर्छ । दिनभरि केही नखाई निराहार व्रत बस्नेहरुले एकैपटक राती खाने हो भने खाली पेटमा धेरै चिल्लो खानेकुराको सट्टामा कम चिल्लो हालेर रोटी, तरकारी, दूध, दही एवम् फलफूल खानु उपयुक्त हुन्छ ।

व्रतको भोलीपल्ट कस्तो खाना खाने ?
व्रतको भोलिपल्टको पहिलो खाना तरल हुनुपर्छ । कालो चियाबाट सुरु गर्ने अनि सादा कम चिल्लो भएको खानेकुरा खाने । त्यसपछि भने सामान्य खाना खान सकिन्छ । खाना सबै किसिमको पौष्टिक तत्व मिलेको सन्तुलित हुनुपर्छ ।

कति समयसम्म भाकै बस्न सकिन्छ ?
सकेसम्म लामो समय भाकै बस्नु हुँदैन । खासगरी मधुमेहका बिरामीले लामो समय भोकै बस्दा शरीरमा चिनीको मात्रा कम हुन गई जटिल स्वास्थ्य समस्या देखा पर्नसक्छ । सामान्य व्यक्तिले पनि लामो समय भाकै बस्दा ग्यास्ट्रिकको समस्या हुनसक्छ । धेरै बेर नखाएर पछि खाँदा आवश्यकताभन्दा बढी खाना खाइन्छ, जुन स्वास्थ्यका दृष्टिले राम्रो होइन । (नारी पत्रिकाबाट साभार)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.