तीजको दर खाएर एउटै गाउँका सयभन्दा बढी व्यक्ति बिरामी

| 2022 Aug 24 | 03:00 pm 2005

गोरखा, भदौ, ८ः  गोरखामा तीजको दर खाएका एउटै गाउँका एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् । गोरखा नगरपालिका–७ मान्द्रेढुङ्गाका महिला तथा पुरुष तीजको भोज खाएपछि बिरामी परेका हुन् ।

वडाध्यक्ष विष्णु श्रेष्ठका अनुसार भोज खाएका अघिकांश बिरामी परेका छन् । “कृष्ण जन्माष्टमीका दिन स्थानीय महिला तथा पुरुष मिलेर तीजको दर खाएका थिए । सोही साँझदेखि नै भोज खाएका सबै बिरामी परेका हुन्”, उनले भने, “बिरामी परेको थाहा पाएपछि स्वास्थ्यकर्मी लगेर उपचार सुरु गरिएको छ ।”

स्वास्थ्यकर्मीको टोलीले ४० जनाभन्दा बढीको स्वास्थ्य जाँच गराएको श्रेष्ठले बताए । बिरामीको घरघरमा स्वास्थ्यकर्मीको टोली पठाएर आवश्यक औषधोपचार गरिएको उनले बताए ।

बिरामी परेकाहरू अहिले विस्तारै निको हुँदै गएका छन् । केहीलाई अझै घरमै स्लाइनपानी दिएर राखिएको अहेव भूमिका श्रेष्ठले जानकारी दिइन् । बिरामीमा शनिबार साँझदेखि नै पेट दुख्ने, वान्ता हुने, ज्वराे आउने र पखाला लाग्ने समस्या देखिएको उनले बताए ।   बिरामीमध्ये अधिकांशको गोरखा सदरमुकामका निजी क्लिनिकमा उपचार भइरहेको छ । “केही आफैँ गोरखा अस्पताल पुगेर उपचार गराइरहेका छन्”, उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.