काठमाडौं, मंसिर २ः गएराति काठमाडौंको कपन बालुवाखानी चोकस्थित नारायणबहादुर बस्नेतको घरमा आगलागी भएको छ । आगलागीमा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा नुवाकोट शिवपुरी गाउँपालिका ५ घर भएका कृष्णबहादुर तामाङ छन् । उनी बस्नेतको चारतले घरको पहिलो तलामा डेरा गरी बस्थे । उनी बस्दै आएको कोठामा विद्युत सर्ट भई आगलागी भएको बताइएको छ ।
आगलागीमा परी मृतककी ३५ वर्षीया बहिनी विपना तामाङ र उनका ११ महिनाका छोरा दावा तामाङ घाइते भएका छन्। उनीहरूको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । विपना तिहार मनाउन दाजुकोमा आएकी थिइन् ।
दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा सोमबार राति करिब दुई बजे आगलागी नियन्त्रणमा आएको थियो । राजधानी दैनिकबाट