काठमाडौं, कात्तिक १२: तिथि घटबढका कारण नेवार समूदायले आज नेपाल संवत ११४० देशभर विविध कार्यक्रम गरी मनाउँदैछन् ।
यस वर्ष पञ्चांग निर्णायक समितिले चार दिनमात्रै तिहारको पात्रो निकालेपछि नेवार समूदायले पञ्चक पाँच दिन हुने भन्दै फरक समयमा नेपाल संवत र म्ह पूजा मनाउदैछन् । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब नागरिकको ऋण मोचन गरी नेपाल संवतको सुरुवात् गराएका थिए ।
नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो । विसं २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो ।
ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै विसं २०५६ सालमा नेपाल संवतको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए । त्यसैगरि नेवार समुदायले भने आफ्नै शरीरको पूजा गरी म्हपूजा मनाउँदै छन् ।
आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्मपूजा गर्ने परम्परा भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
आगलागीबाट बचेको खुसियालीमा हाँडीगाउँ विशालनगरका बासिन्दाले यो प्रचलन शुरु गरेको इतिहास रहिआएको छ । यद्यपी, केहीले सोमबार नै म्ह पूजा समेत गरेका थिए ।