गुल्मी, वैशाख २६: सुख्खा समय सुरु भए संगै तम्घासमा पिउने पानीको हाहाकार भइरहेको समयमा बोरिङबाट पिउने पानीको व्यवस्था गर्न लागिएको छ ।
रेसुंगा नगरपालिका वडा नम्बर ९ को उपल्लो तम्घासमा बोरिङबाट पानी निकाली पिउने पानीको व्यवस्था गर्न लागिएको वडा अध्यक्ष नारायण बरालले जानकारी दिए ।

बरालका अनुसार हाल वडा नम्बर ९ मा रहेका ५ सय २१ घरधुरीहरुलाई पानीको व्यवस्था गर्न लागिएको र त्यस पश्चात अन्य वडाहरुका लागि पनि व्यवस्था गर्ने बताए । अहिले ४२ मिटर गहिराइबाट सामान्य पानी आएको छ यसलाई १५० मिटर गहिराई सम्म लगेर तम्घासमा पानीको दिर्घकालीन समस्याको समाधानमा लाग्ने गरि योजना बनाएको जनकारी दिए । यस बेरिङ संचालनका लागि खानेपानी तथा सरसफाई डिभिजन कार्यलय तम्घासको प्राविधिक सहयोग रहेको बरालले बताए ।

तम्घासमा खानेपानीको समस्या बढदै गएको समयमा यसलाई विशेष महत्वका साथ हेरिएको स्थानीयहरु बताउछन् । बुधबार रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले उक्त स्थानको अवलोकन समेत गरेका थिए । अहिले तम्घासमा पिउँने पानीको समस्या हुँदै गएपछि नगरपालिकाले ट्याङकरबाट पानी वितरण गरिरहेको छ ।