तनहुँमा दुर्घटनामा ४२ जना घाइते

रिपोर्ट नेपाल | 2019 Sep 16 | 07:17 pm 1112

दमौली, भदौ  ३० : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँका विभिन्न भागमा सोमबार छुटाछुटै ठाँउमा दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् ।

सोमबार बिहान व्यास नगरपालिका १२ कमलाबारीमा भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नम्बरको बस अनियन्त्रित भइ राजमार्ग छेउमा पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा घाइतेमध्ये १२ जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको र बाँकी सबै डिस्चार्ज भइसकेका छन् । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

यस्तै स्याङ्जा वालिङबाट काठमाडौँतर्फ जाँदै गरेको माईक्रो बस र विपरित दिशाबाट आएको बोलेरो जीप तनहुँको मुसेखोलामा एकआपसमा ठोक्किएका हुन् । दुर्घटनामा परी १५ जना यात्रु घाइते भएका छन् । तीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र अन्य सामान्य घाइते रहेका छन् । घाइतेहरुको दमौली अस्पताल, व्यास नगर अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.