काठमाडौँ, वैशाख ४ः हनुमानढोका दरबार मूल ढुकुटीमा रहेका करिब साढे १६ हजार गरगहना सङ्ग्रहालयमा राख्ने तयारी भएको छ । यसका लागि भद्रकाली मन्दिरको अर्धगोलाकार भवनलाई सङ्ग्रहालय बनाउने गरी भवनको पुनर्निर्माण कार्य अगाडि बढिसकेको छ । काठमाडौँ महानगरपालिकाले सो भवनको पुनर्निर्माण अगाडि बढाएको महानगरका प्रवक्ता ईश्वरमानसिंह डङ्गोलले जानकारी दिए ।
राणाकालीन र शाहकालीन समयमा मुलुकका सबै प्रमुख देवस्थलबाट ल्याइएका देवदेवीका गरगहना हनुमानढोका दरबारस्थित वसन्तपुर गद्दी बैठकमा थन्किएका छन् ।
केन्द्रीय गुठी लगत तथा अभिलेख शाखा कार्यालय प्रमुख राजेन्द्र दाहालका अनुसार बैठक सामुन्नेको फरासखानामुनिको ढुकुटीका यी गहना फरासखाना पुनर्निर्माण गर्ने क्रममा हालै मात्र गद्दी बैठकमुनि सारिएको हो ।
पञ्चायतपछिको २०४६ सालको अन्तरिम सरकारको निर्णय अनुसार २०४८ सालमा यो ढुकुटी रुजुका लागि खोलिएको थियो । पुरातìव विभागमार्फत उपत्यकाका तीन प्रमुख राष्ट्रिय सङ्ग्रहालयबाट गहना सार्वजनिक हुनुपर्छ भनी रुजु गर्न गठित समितिले निर्णय गरे पनि यो कार्य अगाडि बढ्न सकेको थिएन । अहिले यी गरगहनालाई हनुमानढोका दरबार हेरचाह अड्डाले प्रदर्शनमा राखेको छ ।
के छन् ढुकुटीमा हाल वसन्तपुर दरबारमा रहेका यी गरगहनामा वि.सं. १८८९ मा सुरेन्द्रविक्रम शाहले गुह्येश्वरीलाई चढाएको २८ तोला सुनको मुन्डमाला, रानी राज्यलक्ष्मीले चढाएको ८९ तोला सुनको छत्र, जङ्गबहादुर राणाले चढाएको ४९ तोला सुनको भैरव मूर्ति छन् । गाेरखापत्र दैनिकबाट