ढकाल र प्रधान मध्ये कसले मार्ला बाजी ?

| 2020 Nov 28 | 10:16 am 2023

काठमाडौं, मंसिर १३ : प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीबार उद्घाटन गरेको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज शनिबार राजधानीका विभिन्न तीन स्थानमा हुँदैछ ।

महासंघको ५४औं वार्षिक साधारण सभामा शुक्रबार बन्दसत्र सम्पन्न भएसँगै आगामी वरिष्ठ उपाध्यक्ष लगायत पदाधिकारी चयनका लागि निर्वाचन हुन लागेको हो । जसअनुसार ६३ पदका लागि १२७ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत लीलामणि पौडेलले बताएका छन् ।

शनिबार बिहान ८ बजेदेखि शुरु भएको मतदान दिउँसो ४ बजेसम्म हुने भएको छ । जिल्ला(नगरतर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएटतर्फका लागि कार्की बैंक्वेट थापाथली र वस्तुगततर्फका लागि महासंघको केन्द्रीय कार्यालय टेकुमा मतदान भइरहेको छ ।

यसैगरी, कोरोना संक्रमित मतदाता व्यवसायीहरूका लागि पनि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा छुट्टै मतदानको व्यवस्था मिलाइएको महासंघ निर्वाचन समितिले जनाएको छ ।

६३ पदका लागि १२७ को उम्मेदवारी परेको र कुनै विवाद नआए शनिबार राति नै मतपरिणाम आउने निर्वाचन समितिले जनाएको छ । वर्तमान विधानअनुसार शनिबारदेखि नै अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनेछन् । वरिष्ठ उपाध्यक्षसहित अन्य बाँकी पदहरूमा मात्र निर्वाचन हुन लागेको हो ।

शनिबार हुने निर्वाचनमा महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान समूहबीच तीव्र प्रतिस्पर्धा हुँदैछ । दुईजना कार्यसमिति सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन् । महासंघको वरिष्ठ उपाध्यक्ष, वस्तुगत, जिल्ला र नगर तथा एसोसिएटतर्फ एक(एक उपाध्यक्ष, सात प्रदेश, एक संस्थागत समूहसहित ६३ पदका लागि १२७ जना व्यवसायीको उम्मेदवारी परेको जनाइएको छ ।

विधानअनुसार अध्यक्षमा शेखर गोल्छा स्वतः चयन हुने भएपछि अहिले यस निर्वाचनको चुनावी मैदानमा वरिष्ठ उपाध्यक्ष पदमा ढकाल र प्रधान, उद्योग वाणिज्य समूहतर्फको उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ, वस्तुगत समूहतर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ एवं एसोसिएटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाई र सौरभ ज्योति प्रतिस्पर्धामा उत्रिएका छन् ।

वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल समूहबाट महासंघको आगामी उपाध्यक्ष पदमा तिवारी, उमेशलाल श्रेष्ठ र संघाईले उम्मेदवारी दर्ता गराएका हुन् भने अर्का प्रतिस्पर्धी प्रधान समूहबाट उपाध्यक्ष पदमा दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ र सौरभ ज्योतिले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी, महासंघको जिल्ला(नगरतर्फ १८ केन्द्रीय कार्यसमिति सदस्यका लागि ३८ जनाको उम्मेदवारी परेको छ । प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगततर्फको १४ कार्यसमिति सदस्यका लागि २९ जना र १९ जना एसोसिएटतर्फको सदस्य पदका लागि ३३ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, एक जना संस्थागत समूहका लागि तीन जना व्यवसायीको उम्मेदवारी परेको महासंघ निर्वाचन समितिले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.