डोल्पा, फागुन ३०: हिमाली जिल्ला डोल्पामा भारी हिमपात भएको छ। शुक्रबार बिहान मुसलधारे पानी परेपछि भारी हिमपात भएको हो।
हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पा हिउँले ढाकिएको छ । त्यसैगरी तल्लो र मध्ये डोल्पामा पर्ने दुनै, सुँ, जुफाल, माझफाल, रह, लिकु, त्रिपुराकोट, पहाडा, काइगउँ लगायतका बस्तीहरुमा पनि बाक्लो हिउँ जमेको स्थानीयले जानकारी दिए।
बैमौसममा परेको हिमपातका कारण डोल्पाको तापक्रम शून्यमा झरेको छ भने त्यहाँका जनजीवन कष्टकर बनेका छन्।
यो वर्ष अघिल्लो वर्षभन्दा धेरै कम हिउँपरेको त्रिपुरासुन्दरी नगरपालिका १ का स्थानीय देबीकृण उपाध्यायले बताए।
फागुन अन्तिममा वर्षासँगै हिउँले हिमाली भेगमा लगाइएको बालीनाली सप्रन फाइदा पुग्नुका साथै पशुवस्तुका लागि खर उम्रने उनले बताए।
शुक्रबारको वर्षा र हिमपातका काराणले त्यहाँका जुफल विमानस्थल बन्द भएको छ। धावन मार्गमा बाक्लो हिउँ जमेपछि शुक्रबार बिहान कुनै पनि उडान नभएको नागरिक उडड्यन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ।
डोल्पाली जनताका लागि यातायातको एक मात्र साधनको रुपमा रहेको जुफाल विमानस्थल बन्द भएपछि आवतजावत ठप्प भएको छ भने दैनिक उपभोग्य सामाग्री ढुवानी रोकिएको छ।
शुक्रबार दिनभर हिमपात जारी रहे शनिबारसमेत उडान नहुने सम्भावना देखिएको जुफाल विमानस्थलले जनाएको छ।